गोदावरी–२ मा मष्टाधाम निःशुल्क कपडा वितरण केन्द्र स्थापना
प्रयोगमा नआएका कपडा संकलन गरी विपन्न, असहाय, ज्येष्ठ नागरिक तथा बालबालिकालाई निःशुल्क वितरण गरिने
लक्ष्मी भट्ट/अत्तरिया- गोदावरी नगरपालिका–२, आदर्श टोलमा ‘मष्टाधाम निःशुल्क कपडा वितरण केन्द्र’ स्थापना गरिएको छ। असोज ८ गते स्थापना गरिएको केन्द्रको उद्घाटन बाल ब्रह्मचारी लोमस गिरी महाराजले गर्नुभएको हो।
मष्टाधाम बन्नेगडाको आयोजना तथा सहयोगमा स्थापना गरिएको उक्त केन्द्रले आर्थिक रूपमा विपन्न, असहाय तथा कपडाको आवश्यकता भएका नागरिकलाई निःशुल्क कपडा उपलब्ध गराउने उद्देश्य राखेको छ।

मष्टाधाम निःशुल्क कपडा वितरण केन्द्रले प्रयोगमा नआएका तर सफा तथा प्रयोगयोग्य कपडा संकलन गरी आर्थिक रूपमा विपन्न, असहाय, ज्येष्ठ नागरिक तथा बालबालिकालाई निःशुल्क उपलब्ध गराउने अभियान सञ्चालन गरेको छ। केन्द्रले स्थानीयवासी, संघसंस्था, व्यवसायी तथा सहयोगी मन भएका व्यक्तिहरूलाई आफूले प्रयोग नगरेका कपडा सहयोग गर्न आग्रह गरेको छ।
कपडा वितरण केन्द्रका संयोजक गणेश धामी साउदका अनुसार प्रयोगमा नआएका तर सफा तथा प्रयोगयोग्य कपडालाई पुनः सदुपयोग गर्दै आवश्यकतामा रहेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको हो।


केन्द्रबाट विशेषगरी विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिका तथा असहाय व्यक्तिलाई आवश्यकताका आधारमा निःशुल्क कपडा उपलब्ध गराइने जनाइएको छ। कपडा वितरण प्रक्रियामा पारदर्शिता कायम गरिने पनि संयोजक साउदले बताउनुभयो।
केन्द्रले स्थानीय बासिन्दा, सामाजिक संघसंस्था, व्यवसायी, विभिन्न संघ–संगठन तथा सहयोगी मन भएका व्यक्तिहरूलाई आफूले प्रयोग नगरेका सफा र प्रयोगयोग्य कपडा उपलब्ध गराउन आग्रह गरेको छ। संकलित कपडाहरू आवश्यकताका आधारमा सम्बन्धित व्यक्तिलाई निःशुल्क वितरण गरिनेछ।
‘प्रयोगयोग्य कपडा खेर नफालौँ, आवश्यकतामा रहेका व्यक्तिलाई सहयोग गरौँ’ भन्ने सामाजिक सन्देशसहित सुरु गरिएको यस अभियानले समुदायमा सहयोग, सहकार्य र मानवीय सेवाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
मष्टाधाम व्यवस्थापन समिति गोदावरी–४, बन्दगडाका अनुसार सामाजिक तथा मानवीय सेवाको भावनाबाट प्रेरित यस्तो अभियान सञ्चालन गर्न पाउनु खुशीको विषय भएको जनाएको छ।
केन्द्रले आगामी दिनमा कपडा संकलन तथा वितरणलाई थप व्यवस्थित बनाउँदै आवश्यकतामा रहेका नागरिकसम्म सेवा पुर्याउने लक्ष्य राखेको छ।
