धनगढी- असोज ९ देखि १२ गतेसम्म भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि कैलाली जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यक तयारी थालेको छ।


प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय गरेको छ। कर्णाली र मोहना नदीलगायत प्रमुख नदीको जलस्तर नियमित निगरानी गरी जोखिमयुक्त बस्तीमा समयमै सूचना प्रवाह गर्ने व्यवस्था मिलाइने भएको छ।

सम्भावित बाढी तथा पहिरोका कारण सडक अवरुद्ध हुनसक्ने भन्दै डोजर, एक्साभेटर, लोडर तथा उद्धार सामग्री तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। टीकापुर–५ लगायत कर्णाली नदी कटान प्रभावित क्षेत्रमा अस्थायी रोकथामका काम गर्ने निर्णय पनि भएको छ।
बैठकले प्रत्येक स्थानीय तहबाट नेपाल रेडक्रस सोसाइटी कैलालीलाई एक लाख रुपैयाँ उपलब्ध गराउने तथा भोटेकोशी बाढीबाट प्रभावित कैलालीका परिवारलाई राहत सामग्री वितरण गर्ने निर्णयसमेत गरेको छ।
