धनगढी- कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको करिब ३१ लाख ७२ हजार रुपैयाँ बराबरको अवैध सामानसहित भारतीय नम्बर प्लेटको मिनी ट्रक बरामद गरेको छ।
प्रहरीका अनुसार गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट बिहीबार दिउँसो भारतीय नम्बर प्लेटको मिनी ट्रकसहित २६ लाख २५ हजार रुपैयाँ बराबरका मोटरसाइकलका टायर, ट्युब तथा घाँस काट्ने मेसिन बरामद गरिएको हो।

इलाका प्रहरी कार्यालय मालाखेती र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण धनगढीबाट खटिएको संयुक्त टोलीले अवैध सामानसहित मिनी ट्रकका चालक भारतको लखिमपुर खिरीका ३८ वर्षीय चन्द्रकुमार बर्मालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
यसैगरी, कैलालीका विभिन्न स्थानबाट प्रहरीले थप ५ लाख ४७ हजार ५० रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरेको छ। बेवारिसे अवस्थामा फेला पारिएका सामानमा पेय पदार्थ, सुर्ती, बिडी, गुट्खा, कपडा, इलेक्ट्रिक सामग्री तथा किराना सामानलगायत रहेका छन्।
प्रहरीले बरामद गरेका मिनी ट्रक, अवैध सामान तथा चालकलाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय, त्रिनगर पठाइएको जनाएको छ।
