अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–४ स्थित जंगलमा सञ्चालन भइरहेको भनिएको जुवा खालमा प्रहरीले छापा हानेको छ। प्रहरीले छापा मार्ने क्रममा सरकारी मोटरसाइकलसहित ११ वटा मोटरसाइकल बरामद गरेको जनाएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले मंगलबार बेलुकी गोदावरी–४ स्थित हनुमान मन्दिरको पछाडिपट्टि जंगल क्षेत्रमा सञ्चालन भइरहेको जुवा खालमा छापा मारेको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरासिंह महराका अनुसार छापा मार्ने क्रममा सरकारी मोटरसाइकलसहित ११ वटा मोटरसाइकल बरामद गरिएको हो।
प्रहरीका अनुसार छापा मार्नुअघि नै सुराकीमार्फत सूचना चुहिएपछि जुवा खेलिरहेका व्यक्तिहरू भने भागेका थिए। घटनास्थलबाट जुवा खेल्ने व्यक्तिहरू फेला नपरे पनि उनीहरूले प्रयोग गरेका मोटरसाइकलहरू बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएका सबै मोटरसाइकल इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
