इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो अलैहिवसल्लमको १५०१औँ जन्मजयन्ती आज नेपालमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
मुस्लिम समुदायले पैगम्बर मोहम्मदलाई आफ्नो धर्मका सन्देष्टा तथा मार्गदर्शकका रूपमा मान्ने गर्छन्। उहाँको जन्म साउदी अरबको मक्कामा भएको थियो। पछि उहाँ मदिना पुग्नुभएको थियो। उहाँका उपदेश तथा शिक्षालाई इस्लाम धर्मको पवित्र ग्रन्थ कुरानसँग जोडेर मुस्लिम समुदायले विशेष महत्व दिने गर्छ।

मोहम्मद जयन्तीका अवसरमा आज विभिन्न स्थानमा र्याली, सभा तथा धार्मिक कार्यक्रम आयोजना गरिँदैछन्। काठमाडौंस्थित नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायत स्थानमा विशेष कार्यक्रम हुँदैछन्।
यसै अवसरमा सरकारले मुस्लिम समुदायका लागि आज सार्वजनिक बिदासमेत दिएको छ। गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै मोहम्मद जयन्तीका अवसरमा मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने जनाएको हो।
मक्का र मदिनालाई मुस्लिम समुदायका प्रमुख पवित्र धार्मिक स्थलका रूपमा मानिन्छ। मुस्लिम धर्मावलम्बीहरूले आफ्नो जीवनमा कम्तीमा एकपटक मक्का पुगेर हज गर्ने धार्मिक आकांक्षा राख्ने गर्छन्।
