बसले किचेर महिलाको मृत्यु भएको घटनामा अत्तरियामा आफन्तको प्रदर्शन

लक्ष्मी भट्ट/अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–१ विजय नगरकी ४६ वर्षीया सिन्की बोहराको बसले किचेर मृत्यु भएको घटनाको विरोधमा उनका आफन्त तथा स्थानीयले मंगलबार अत्तरियामा प्रदर्शन गरेका छन्।

बसपार्कमा पानी बिक्री गर्दै आएकी बोहरा भदौ ७ गते साँझ करिब ४ः४५ बजे सुपप्र ०२–००१ ख नम्बरको सुपर महाकाली डिलक्स बसले किच्दा मृत्यु भएको परिवारले जनाएको छ।

Navadurga sun

मृतकका छोरा मनोज बोहराले आफ्नी आमालाई चालकले जानीजानी बस ब्याक गरेर किचेको आरोप लगाएका छन्। उनका अनुसार सुरुमा आमाको खुट्टा बसमा च्यापिएको र त्यसपछि चालकले बस पछाडि सारेर पुनः किच्दा आमाको मृत्यु भएको हो।

घटनाका प्रत्यक्षदर्शीहरूले पनि बस पछि ब्याक गरेर महिलालाई किचेको बताएका परिवारको दाबी छ। परिवारले शवको मुचुल्का उठाउने क्रममा समेत घटनालाई एकतर्फी ढंगले प्रस्तुत गरिएको आरोप लगाएको छ।

घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। मृतकका छोरा मनोजका अनुसार पीडित परिवारले भदौ ७ गतेदेखि नै आमाको मृत्युको सत्यतथ्य छानबिन तथा न्यायको माग गर्दै शान्तिपूर्ण आन्दोलन गर्दै आएको छ। आन्दोलनका क्रममा प्रहरीले समेत बल प्रयोग गर्न खोजेको उनको आरोप छ।

न्यायको माग गर्दै मंगलबार अत्तरियामा पीडित पक्षले टायर बालेर प्रदर्शन गरेका थिए। प्रदर्शनका कारण अत्तरियामा केही समय यातायातका साधनसमेत प्रभावित भएका थिए।

यसैबीच, बस व्यवसायी समिति र पीडित पक्षबीच वार्तामार्फत समस्या समाधानका लागि पहल भइरहेको इलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

पीडित परिवारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही र मृतक परिवारलाई न्याय तथा उचित क्षतिपूर्तिको माग गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...