बडिमालिकाको पूजाका लागि सुदूरपश्चिम सरकारद्वारा पेटारो पठाइयो

अत्तरिया- सुदूरपश्चिम प्रदेश सरकारले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बडिमालिका भगवतीको पूजाआजाका लागि परम्परागत पेटारो बडिमालिकातर्फ पठाएको छ।

प्रदेश सरकारले धार्मिक विधिअनुसार बडिमालिका भगवतीको पूजाअर्चना गरी पेटारोलाई बडिमालिकातर्फ प्रस्थान गराएको हो। पूजाअर्चना कार्यक्रममा प्रदेश सरकारका मन्त्री, कर्मचारी तथा अन्य सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो।

Navadurga sun

बडिमालिकामा पूजा गर्न डोटीबाट पेटारो पठाउने परम्परा लामो समयदेखि चलिआएको धार्मिक तथा सांस्कृतिक परम्परा हो। पेटारोमा बडिमालिका भगवतीलाई चढाइने विशेष पूजा सामग्री राखिने र सरकारी पूजा टोलीले पैदल यात्रामार्फत बडिमालिका पुगेर निर्धारित विधिअनुसार पूजा गर्ने परम्परा रहेको छ।

परम्पराअनुसार पेटारो लिएर जाने क्रममा टोलीले बाटोमा पर्ने विभिन्न धार्मिक स्थलमा पूजाआजा गर्दै बडिमालिकातर्फ यात्रा गर्ने गर्दछ। बडिमालिका पुगेपछि डोटी, बाजुरा तथा जुम्लाबाट पुगेका सरकारी पूजा टोलीबीच समन्वय गरी मुख्य पूजामा सहभागी हुने परम्परा रहेको छ।

यस वर्ष बडिमालिकाको मुख्य पूजा भदौ ११ गते हुने भए पनि दर्शनार्थीको बढ्दो चापलाई मध्यनजर गर्दै भदौ १ गतेदेखि नै मन्दिरमा पूजा तथा मेला सुरु गरिएको छ।

बडिमालिकाको पेटारो पठाउने परम्पराले धार्मिक आस्थासँगै सुदूरपश्चिमको इतिहास, संस्कृति र मौलिक परम्परालाई समेत जीवन्त राख्दै आएको छ। राज्यस्तरबाट निरन्तरता दिइँदै आएको यस परम्पराको संरक्षण तथा प्रवर्द्धनमा प्रदेश सरकारले समेत प्राथमिकता दिँदै आएको जनाएको छ।

बडिमालिका सुदूरपश्चिमको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा समेत परिचित छ। प्रत्येक वर्ष बडिमालिका दर्शन तथा पूजाका लागि नेपालका विभिन्न जिल्लाबाट ठूलो संख्यामा श्रद्धालु तथा तीर्थयात्री पुग्ने गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...