अत्तरिया- सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी निर्माणसहित क्षेत्रको विकाससँग सम्बन्धित विभिन्न माग राख्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ समन्वय कमिटीले प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ।
निर्वाचन क्षेत्र नं. ४ समन्वय कमिटीका संयोजक गणेशबहादुर साउँदको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री, सामाजिक विकासमन्त्री, आर्थिक मामिलामन्त्री तथा कृषिमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको हो। टोलीले राजधानी निर्माण, सडक पूर्वाधार तथा धार्मिक एवं पर्यटकीय क्षेत्रको विकासलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएको छ।

ज्ञापनपत्रमा गोदावरी नगरपालिका–२ र ४ स्थित तेघरीमा प्रदेश राजधानी निर्माणका लागि आवश्यक बजेट विनियोजन गरी निर्माण प्रक्रिया अघि बढाउन माग गरिएको छ। राजधानी क्षेत्रको जग्गा व्यवस्थापन, वातावरणीय अध्ययनलगायत आवश्यक प्रक्रिया शीघ्र टुंग्याउन पनि सरकारसँग आग्रह गरिएको छ।
त्यस्तै, चौकीडाँडा–फल्टुडे सडकलाई प्राथमिकताका साथ निर्माण गरी पहाडी क्षेत्रसँग सहज सडक सञ्जाल विस्तार गर्नुपर्ने माग गरिएको छ। यस क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थललाई आपसमा जोड्ने गरी धार्मिक पथ (धार्मिक सर्किट) निर्माणको अवधारणालाई कार्यान्वयनमा ल्याउनुपर्ने विषय पनि ज्ञापनपत्रमा समेटिएको छ।
ज्ञापनपत्र बुझाउने क्रममा सहभागी प्रतिनिधिहरूले प्रदेश राजधानी निर्माण गोदावरीको मात्रै नभई समग्र सुदूरपश्चिमको विकास, प्रशासनिक स्थायित्व र समृद्धिसँग जोडिएको विषय भएको बताएका थिए। उनीहरूले राजधानी निर्माणको निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्न सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन्।
संयोजक साउँदका अनुसार ज्ञापनपत्रमा राखिएका मागप्रति मुख्यमन्त्रीसहित सम्बन्धित मन्त्रीहरूले सकारात्मक धारणा व्यक्त गर्दै आवश्यक प्रक्रिया अघि बढाउने तथा माग कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
राजधानी निर्माणसँगै सडक पूर्वाधार र धार्मिक पर्यटनको विकासलाई एकीकृत रूपमा अघि बढाउन सके गोदावरी क्षेत्रलाई सुदूरपश्चिमको महत्वपूर्ण प्रशासनिक, आर्थिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिने अपेक्षा गरिएको छ। एमाले क्षेत्र नं. ४ का नेता तथा कार्यकर्ताले सरकारको प्रतिबद्धता व्यवहारमै कार्यान्वयन गर्न तथा आगामी बजेट तथा कार्यक्रममा यी विषयलाई प्राथमिकताका साथ समेट्न आग्रह गरेका छन्।
