धनगढी- कैलालीमा झरनामा खसेर बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्।
डडेल्धुराका अन्दाजी २१ वर्षीय खगीराज पन्त शनिबार दिउँसो करिब ४ बजेतिर चुरे गाउँपालिका–५ स्थित सुरुंगडा चिफ्ले झरनामा खसेर बेपत्ता भएका थिए।

पन्त झरनामा खसेपछि उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। सुरक्षाकर्मीले निरन्तर खोजी गर्ने क्रममा आइतबार दिउँसो झरनाबाट करिब ५ सय मिटर तल उनको शव फेला पारेका हुन्।
प्रहरीका अनुसार शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
