धनगढी- कैलालीमा पानी बोक्ने लोडर अनियन्त्रित भएर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ।
शुक्रबार राति जानकी गाउँपालिका–७ स्थित चिलिम चौराहामा सुदूरपश्चिम प्रदेश ०१–००१ स ५४३९ नम्बरको लोडर दुर्घटना हुँदा टीकापुर नगरपालिका–१, बनगाउँका १५ वर्षीय लक्ष्मण घर्ती मगरको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मगरलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो। उनको उपचारकै क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले लोडरका चालकसहित तीन जना सवार व्यक्ति र लोडरलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
