अत्तरिया- गोदावरी नगरपालिकामा छाडा पशुचौपाया व्यवस्थापनका लागि आयोजित सर्वपक्षीय छलफल ठोस निष्कर्षमा पुग्न नसकी टुंगिएको छ। दीर्घकालीन व्यवस्थापनका लागि विभिन्न सुझाव प्रस्तुत भए पनि व्यवस्थापनस्थल, आवश्यक पूर्वाधार तथा सञ्चालनसम्बन्धी कार्ययोजनामा नगरपालिका र सरोकारवालाबीच सहमति जुट्न नसकेको हो।
छलफलमा सहभागीहरूले छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढ्नुका साथै कृषि बालीमा क्षति र सार्वजनिक क्षेत्रमा समस्या सिर्जना भइरहेको भन्दै तत्काल समाधान खोज्नुपर्नेमा जोड दिएका थिए। सम्भावित व्यवस्थापनस्थल पहिचान, आवश्यक पूर्वाधार निर्माण तथा सञ्चालनको जिम्मेवारीबारे समेत सुझाव दिइएको थियो।

तर, व्यवस्थापनस्थल छनोटलगायत विषयमा सहमति हुन नसकेपछि थप छलफलमार्फत समाधान खोज्ने निष्कर्ष निकालिएको छ। सामुदायिक वनका प्रतिनिधि, स्थानीय सरोकारवाला तथा सम्बन्धित पक्षसँग थप छलफल गर्ने सहमति भएको छ।
यसैअनुसार प्रदेश सांसदसहितको सहभागितामा भदौ ११ गते पुनः बैठक बस्ने सहमति भएको जनाइएको छ।
यसअघि छाडा चौपाया व्यवस्थापनको माग गर्दै नगरपालिका पुगेका स्थानीयले छलफल लिखित निर्णयबिनै टुंग्याइएको भन्दै असन्तुष्टि जनाएका थिए। स्थानीयले समस्या समाधानका लागि नगरपालिकाले ठोस निर्णय लिनुपर्ने माग गर्दै आएका छन्।
छाडा चौपाया व्यवस्थापनमा नगरपालिकाले चासो नदिएको आरोप लगाउँदै स्थानीयले तीन दिनअघि नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा तालाबन्दीसमेत गरेका थिए। त्यसपछि नगर प्रमुख भट्टले समस्या समाधानका लागि सर्वपक्षीय छलफल आह्वान गरेका हुन्।
तर, पहिलो चरणको छलफलबाटै ठोस निर्णय हुन नसकेपछि छाडा चौपाया व्यवस्थापनको समस्या तत्काल समाधान हुनेमा स्थानीयको आशंका कायमै रहेको छ।
