सुदूरपश्चिम सरकारलाई पूर्णता दिन तीन सदस्यीय कार्यदल गठन

सुदूरपश्चिम प्रदेश सरकारलाई पूर्णता दिन तथा मन्त्रालयहरूको जिम्मेवारी बाँडफाँटको टुङ्गो लगाउन तीन सदस्यीय कार्यदल गठन गरिएको छ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक खुसीराम डगौरा थारुका अनुसार प्रदेश इन्चार्ज, प्रदेश संयोजक र मुख्यमन्त्री सम्मिलित कार्यदलले मन्त्रालय बाँडफाँट तथा मन्त्रीहरूको जिम्मेवारीको अन्तिम टुङ्गो लगाउनेछ।

Navadurga sun

कार्यदलले मन्त्रालयको जिम्मेवारी बाँडफाँटलगायत विषयमा सूक्ष्म अध्ययन गर्नेछ। प्रदेशस्तरमै सहमति जुटेमा कार्यदलले निर्णय गर्ने र सहमति हुन नसकेका विषय केन्द्रको हेडक्वार्टरमा सिफारिस गरिने थारुले बताए।

‘मिलेको कुरा यहीँ मिल्छ, नमिलेको हकमा हेडक्वार्टरबाट टुङ्गिएर आउँछ,’ उनले भने।

थारुलाई भौतिक पूर्वाधार मन्त्री बनाउन साविक नागरिक उन्मुक्ति पार्टी (नाउपा) का ६ जना सांसदले हस्ताक्षर गरी माग गरेको विषयमा भने उनले कूटनीतिक जवाफ दिएका छन्। बैठक तथा छलफलका क्रममा विभिन्न धारणा आउनु र कसैले कसैको प्रस्तावलाई समर्थन गर्नु लोकतान्त्रिक प्रक्रियाकै हिस्सा भएको उनको भनाइ छ।

‘छलफलका क्रममा सबैले आफ्ना विचार राख्छन्। कसैको धारणा कोहीसँग मिल्छ, कसैले समर्थन गर्छन्। यो बैठकमा हुने सामान्य प्रक्रिया हो,’ थारुले भने।

आफूलाई मन्त्रीको जिम्मेवारी दिइएमा मन्त्रिपरिषद्को राय–सल्लाह तथा मन्त्रालयको क्षेत्राधिकारभित्र रहेर काम गर्ने उनले प्रतिबद्धता जनाए। विगत पाँच वर्षमा सरकारमा पटक–पटक भएको फेरबदलतर्फ संकेत गर्दै उनले अबको बाँकी अवधिमा स्थिर सरकार आवश्यक रहेकोमा जोड दिए।

‘स्थिरताले नै विकासको सुनिश्चितता गर्छ। हिजोको जस्तो फेरबदल हुने अवस्था नआओस् भन्ने मेरो चाहना हो,’ उनले भने।

सुदूरपश्चिममा मुख्यमन्त्रीलाई आफ्नै दलभित्रका आकांक्षीहरूको व्यवस्थापन गर्न चुनौती देखिए पनि कार्यदलले छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने अपेक्षा गरिएको छ। मुख्यमन्त्रीले समेत दुई–तीन दिनभित्रै मन्त्रालयको जिम्मेवारी बाँडफाँट टुङ्गो लाग्ने बताउँदै आएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...