कैलाली- कैलालीको बर्दगोरिया गाउँपालिका–३ स्थित लालिगुराँस सामुदायिक वनमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर ४३ वर्षीय पदमबहादुर विश्वकर्माको मृत्यु भएको छ।
भदौ २ गते दिउँसो सिकार खेल्ने क्रममा कृष्णबहादुर बुढा क्षेत्रीले जङ्गली बँदेललाई लक्षित गरी गोली चलाउँदा गोली विश्वकर्माको दाहिने छातीमा लागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

गोली लागेर गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि शवलाई जङ्गलमा लगेर राखी आरोपितहरू भागेको बताइएको छ।
मृतकका भाइ गणेश विश्वकर्माले दिएको जाहेरीका आधारमा प्रहरीले कृष्णबहादुर बुढा क्षेत्री र राकेश डगौरा थारुलाई पक्राउ गरेको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा राकेशले घटनामा प्रयोग भएको भरुवा बन्दुक जडैठाँडास्थित काँडा नदीको बगरमा माटोमुनि लुकाएको खुलेको छ। प्रहरीले उक्त स्थानबाट दुई थान भरुवा बन्दुकसमेत बरामद गरेको जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
