देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश भूभागमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास रहेको छ।
महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा साधारणतया बादल लागेको छ। सुदूरपश्चिम प्रदेशको तराई भूभागमा पनि सामान्य बदली रहेको छ भने मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। यसले पहाडी क्षेत्रमा पहिरो, गेग्रान बहाव तथा स्थानीय खोलानालामा पानीको सतह बढ्ने जोखिम निम्त्याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।
आज राति हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली भूभागका थोरै तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा समेत चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
मौसममा आएको परिवर्तनका कारण यात्रा गर्दा, नदी तथा खोलानाला आसपास बस्दा र पहाडी क्षेत्रमा आवतजावत गर्दा विशेष सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
