कञ्चनपुर- मिर्गौला रोगीको चाप बढेपछि कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले रातिको तेस्रो सिफ्टमा पनि डायलाइसिस सेवा सञ्चालन गर्ने तयारी गरेको छ।
अस्पतालमा डायलाइसिस सेवाका लागि पर्याप्त शय्या, मेसिन र जनशक्ति नहुँदा बिरामीलाई सेवा दिन समस्या भइरहेको छ। अस्पतालका प्रवक्ता डा. अर्जुन भट्टका अनुसार अहिले १० वटा बेडबाट दैनिक १८ देखि १९ जनालाई डायलाइसिस सेवा दिनुपर्ने अवस्था छ।

“दैनिक २० देखि २५ जना बिरामी डायलाइसिसका लागि आउने गरेका छन्,” डा. भट्टले भने, “बिरामीको चापअनुसार जनशक्ति, शय्या र मेसिन व्यवस्थापन गरी सेवा सहज बनाउन माथिल्लो निकायसँग छलफल भइरहेको छ।”
हाल अस्पतालमा बिहान र बेलुका गरी दुई सिफ्टमा डायलाइसिस सेवा सञ्चालन भइरहेको छ। डायलाइसिस सेवामा कार्यरत यशोदा गिरीका अनुसार बिरामीको चापलाई ध्यानमा राख्दै रातिको समयमा समेत सेवा सञ्चालन गर्ने तयारी अघि बढाइएको छ।
रातिको सिफ्ट सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरण व्यवस्थापनको काम भइरहेको अस्पतालले जनाएको छ। तेस्रो सिफ्ट सञ्चालनमा आएपछि डायलाइसिसका लागि पालो पर्खिनुपर्ने बिरामीको समस्या केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।
