मलको अभावले गोदावरीमा धान उत्पादन घट्ने चिन्ता

लक्ष्मी भट्ट/अत्तरिया- गोदावरी नगरपालिकामा यस वर्ष युरिया मलको अभावका कारण धान उत्पादनमा ह्रास आउने चिन्ता बढेको छ। साउन २५ गते बितिसक्दा पनि किसानले धानबालीमा आवश्यक पर्ने युरिया मल सहज रूपमा पाउन सकेका छैनन्। धानमा युरिया मल हाल्ने समय सकिन लाग्दा समेत बजारमा मल नपाउँदा किसानहरू समस्यामा परेका छन्।

गोदावरी नगरपालिका–४ का किसान खगेन्द्र साउदले बजारभरि खोज्दा पनि युरिया मल नपाएको गुनासो गरे। समयमै मल हाल्न नपाउँदा यस वर्ष धानको उत्पादन घट्ने चिन्ता लागेको उनले बताए। कृषि सहकारी संस्थाहरूमा समेत मलको अभाव यथावत् रहेको किसानहरूको भनाइ छ। विगतका वर्षहरूमा यस्तो समस्या नदेखिए पनि यस वर्ष भने मलको अभावले किसानलाई प्रत्यक्ष असर परेको उनीहरू बताउँछन्।

Navadurga sun

गोदावरी–४ कै अर्का किसान शंकर चौधरीले केही समयअघि बजारमा ग्यासको समस्या देखिएको र अहिले किसानले मलको समस्या भोग्नुपरेको बताए। यस्तै, ‘सुदूर किसान भेट फार्म’का सञ्चालक अनुपमका अनुसार गहुँको सिजनमा पनि केही मात्रामा मलको अभाव देखिएको थियो। तर अहिले युरिया मलको अभाव झन् गम्भीर बनेको उनको भनाइ छ।

उनले सरकारले दुई–तीन महिनाअघि नै सहकारी तथा निजी एग्रोभेटहरूलाई आवश्यक मात्रामा मल उपलब्ध गराएको भए अहिलेको समस्या समाधान हुन सक्ने बताए। उनका अनुसार अत्तरियाक्षेत्रमा रहेका करिब ४० वटा सहकारी संस्थाले समेत पर्याप्त मल पाउन सकेका छैनन्। सहकारीका सदस्य नभएका किसानलाई निजी एग्रोभेटमार्फत मल उपलब्ध गराउन सकिने भए पनि सरकारले निजी एग्रोभेटलाई समेत मल उपलब्ध नगराउँदा समस्या थपिएको उनले बताए।

मल व्यवस्थापनमा सरकारी निकायको कमजोरीका कारण किसानले दुःख पाउनुपरेको उनको गुनासो छ। सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीले समयमै मल व्यवस्थापन गर्न नसक्दा आगामी दिनमा समेत किसान थप समस्यामा पर्न सक्ने उनले बताए।

धान खेतीका लागि आवश्यक समयमा युरिया मल उपलब्ध नहुँदा गोदावरी क्षेत्रमा यस वर्ष धान उत्पादनमा उल्लेख्य कमी आउने किसानहरूको अनुमान छ। समयमै मल उपलब्ध गराउन नसके यसको प्रत्यक्ष असर उत्पादन, किसानको आम्दानी र समग्र कृषि क्षेत्रमा पर्ने देखिन्छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...