हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज देशभर मौसममा बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भागका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी र बागमतीका हिमाली तथा पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ। हिमाली क्षेत्रमा मध्यम वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ।

राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
