काठमाडौं- सरकारले राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरी कार्यान्वयनका लागि सम्बन्धित निकायहरूमा पठाएको छ। अर्थ मन्त्रालयले साउन ६ गते मन्त्रिपरिषद्मा पेस गरेको प्रस्तावलाई १५ दिनपछि स्वीकृत गरिएको हो।
नयाँ व्यवस्था अनुसार साउन १ गतेदेखि लागू हुने गरी कर्मचारीहरूको आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरिएको छ। साथै, प्रोत्साहन भत्ताबापत थप १० प्रतिशत उपलब्ध गराइने भएको छ। सेवानिवृत्त पेन्सनधारी राष्ट्रसेवकहरूको पेन्सन पनि १० प्रतिशतले बढाइएको छ।

नयाँ तलब संरचनाअनुसार निजामती सेवामा मुख्यसचिवको मासिक तलब सबैभन्दा बढी रु. ९०,५९४ कायम गरिएको छ भने प्रथम स्तरका कार्यालय सहयोगीको तलब रु. २८,९८४ पुगेको छ। सुरक्षा निकायतर्फ नेपाली सेनाका प्रधानसेनापतिले मुख्यसचिव सरह रु. ९०,५९४ पाउनेछन् भने नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकको मासिक तलब रु. ८४,५७६ कायम गरिएको छ।
