आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा। ज्ञान, शिक्षा, संस्कार र जीवनको सही मार्ग देखाउने गुरुजनप्रति सम्मान, कृतज्ञता र श्रद्धा व्यक्त गर्ने विशेष दिनका रूपमा यो पर्व मनाइन्छ। यसै दिन गायत्री मन्त्र, वेद मन्त्र, दीक्षा तथा आध्यात्मिक ज्ञान प्रदान गर्ने गुरुहरूको सम्मान गर्ने परम्परा रहिआएको छ।
वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेदव्यासको जन्मजयन्तीका अवसरमा वैदिककालदेखि मनाइँदै आएको व्यास जयन्ती नै आज गुरुपूर्णिमाका रूपमा प्रसिद्ध छ। यस अवसरमा शिष्यहरूले आफ्ना गुरुहरूलाई सम्मान गर्दै मिष्ठान्न भोजन गराउने, आशीर्वाद लिने तथा श्रद्धा व्यक्त गर्ने परम्परा रहेको छ। नेपाली समाजमा गुरुलाई आमा–बुबासरह सम्मान गर्ने संस्कार आज पनि जीवित छ।

गुरुपूर्णिमाका अवसरमा देशभरका विद्यालय, क्याम्पस तथा विभिन्न संघ–संस्थाहरूले विशेष कार्यक्रम आयोजना गरी शिक्षा र दीक्षा दिने गुरुहरूप्रति सम्मान व्यक्त गर्छन्। संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो। त्यसैले अज्ञानरूपी अन्धकार हटाई ज्ञानरूपी प्रकाश फैलाउने व्यक्तिलाई गुरु भनिन्छ भन्ने उल्लेख तन्त्रशास्त्र तथा धर्मशास्त्रमा पाइन्छ। गुरुपूर्णिमाले गुरु–शिष्य सम्बन्धलाई अझ सुदृढ बनाउँदै ज्ञान, संस्कार र कृतज्ञताको महत्त्व स्मरण गराउने सन्देश दिन्छ।
