कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिका–९ की १४ वर्षीया गरिमा तिरुवा झरना खोलामा आएको आकस्मिक बाढीमा बगेर मृत्यु भएकी छन्। बिहीबार साँझदेखि बेपत्ता भएकी उनको शव शुक्रबार बिहान घटनास्थलबाट करिब ५ सय मिटर तल बेलौरी–रतनपुर नाला क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।



प्रहरीका अनुसार गरिमा स्थानीय प्रेम महरको खेतमा रोपाइँ सकेपछि दिदीबहिनीसहित ६–७ जनाको समूहमा नजिकैको झरना खोलामा नुहाउन गएकी थिइन्। सोही क्रममा एक्कासी खोलामा पानीको बहाव बढेपछि उनी बगेर बेपत्ता भएकी हुन्।



गरिमासँगै रहेका दुई जना खोलाको बीचतिर पौडी खेल्न गएका थिए। गरिमालाई पौडी खेल्न नआउने भएकाले उनी बाढीको तीव्र बहावमा परेकी थिइन्। उनीसँगै रहेका साथीहरूले उनलाई बचाउने प्रयास गरे पनि सफल हुन सकेन।
घटनालगत्तै साथीहरूले परिवार, स्थानीयवासी र प्रहरीलाई खबर गरेका थिए। त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीले बिहीबार रातिसम्म खोजी अभियान सञ्चालन गरेका थिए। अँध्यारोका कारण राति खोजी स्थगित गरी शुक्रबार बिहान पुनः खोजी थालिएको थियो।
इलाका प्रहरी कार्यालय बेलडाँडी, सशस्त्र प्रहरी बलका भुडा र पचुईस्थित बीओपीबाट विपद् उद्धार तालिम प्राप्त सुरक्षाकर्मीसहित करिब ३० जनाको टोली तथा स्थानीयवासीको संयुक्त खोजी अभियानका क्रममा शुक्रबार बिहान गरिमाको शव घटनास्थलबाट करिब ५ सय मिटर तल फेला परेको प्रहरीले जनाएको छ।




