अत्तरिया- कैलालीको अत्तरिया उद्योग वाणिज्य संघले संघमा आबद्ध उद्योगी तथा व्यवसायीहरूको भेला आह्वान गरेको छ।
संघले जेठ २३ गते शनिबार बिहान १० बजे संस्थाको प्रांगणमा भेला आयोजना गर्ने जनाएको हो। संघका विभिन्न विषयमा छलफल गरी आवश्यक निकास निकाल्नुपर्ने भएकाले सबै उद्योगी तथा व्यवसायीलाई उपस्थित हुन आग्रह गरिएको छ।
उल्लेखनीय रूपमा, अत्तरिया उद्योग वाणिज्य संघले २०८० साल पुस २२ गतेदेखि प्रादेशिक महोत्सव आयोजना गरेको थियो। महोत्सवका क्रममा नक्कली टिकट ठेली बरामद भएपछि संस्थाभित्र विवाद चुलिएको थियो।
यस क्षेत्रका व्यवसायीहरूको साझा संस्था मानिने अत्तरिया उद्योग वाणिज्य संघ झण्डै साढे दुई वर्षदेखि विवादका कारण प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताइएको छ।