

डडेल्धुरा- डडेलधुराको दुर्गम क्षेत्र मानिने गन्यापधुरा गाउँपालिका मा १० शय्याको आधारभूत अस्पताल औपचारिक रूपमा सञ्चालनमा आएको छ। गाउँपालिकाको वडा नं. २ बडालनजिकै देवखेतमा निर्माण गरिएको अस्पताल गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्की ले उद्घाटन गरेका हुन्।


अस्पताल सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाले सामान्य उपचारका लागि सदरमुकाम डडेलधुरा, धनगढी, नेपालगन्ज, काठमाडौँ वा भारतसम्म जानुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ। गाउँपालिकाका उपाध्यक्ष ज्ञानु सेटी देउवा का अनुसार अस्पतालमा एक जना एमबिबिएस चिकित्सकसहित स्वास्थ्य सेवा सुरु गरिएको छ।



सङ्घीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा करिब १४ करोड ७६ लाख रुपैयाँ लागतमा अस्पताल निर्माण गरिएको हो। यो कार्यक्रम अन्तर्गत देशभरका स्थानीय तहमा ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने निर्णय तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ सालमा गरेको थियो।
यसै कार्यक्रम अन्तर्गत डडेलधुराका अन्य गाउँपालिकाहरू—नवदुर्गा, आलीताल, अजयमेरु र भागेश्वरमा पनि आधारभूत अस्पताल निर्माण थालिएको भए पनि केही स्थानमा काम अझै पूरा हुन बाँकी रहेको जनाइएको छ।
नयाँ अस्पताल सञ्चालनमा आएपछि गन्यापधुराका बासिन्दाले गाउँमै सहज स्वास्थ्य सेवा पाउने विश्वास लिइएको छ।





