


धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ले नयाँ जनादेशअनुसार प्रदेश र स्थानीय तहको निर्वाचन तत्काल गर्नुपर्नेमा जोड दिएका छन्। बुधबार धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल पत्रकार महासङ्घ का प्रदेश तथा कैलाली शाखाका पदाधिकारीहरूसँगको भेटघाटका क्रममा उनले वर्तमान राजनीतिक अवस्था जनभावनाअनुसार अघि बढ्नुपर्ने बताए।



उनले भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनबाट अभिव्यक्त जनचाहनाअनुसार संघीय सरकार गठन भएजस्तै प्रदेश र स्थानीय तहको निर्वाचन पनि ढिलाइ नगरी सम्पन्न गर्नुपर्ने धारणा राखे। “जनताको अपेक्षा अनुसार राज्य सञ्चालन हुनुपर्ने भएकाले निर्वाचनलाई प्राथमिकतामा राख्नुपर्छ,” मुख्यमन्त्री शाहले बताए।


मुख्यमन्त्री शाहले निर्वाचनमार्फत जनताको ताजा जनादेश प्राप्त गर्नु लोकतान्त्रिक प्रणालीको मूल आधार भएको उल्लेख गर्दै त्यसका लागि संघीय सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। साथै, उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताउँदै प्रदेश सरकार यसप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारे।
भेटघाटका क्रममा सञ्चार क्षेत्रका चुनौती, प्रेस स्वतन्त्रताको अवस्था तथा प्रदेशस्तरीय सहकार्यका विषयमा पनि विचार आदानप्रदान गरिएको थियो।





