बाजुरा- बाजुरा जिल्लाका जनजाति समुदाय चिसो छल्न बेँसी झरेकाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न समस्या हुने भएको छ। मङ्सिरदेखि नै भेडापाठासहित मौसमी बसाइँ सरेका कारण उनीहरू चैत महिनामा मात्र गाउँ फर्किने जनाइएको छ।




जनजाति महासङ्घ बाजुराका पूर्व अध्यक्ष नृपबहादुर थापा (भोटे) का अनुसार पाँच सयभन्दा बढी परिवार चिसो छल्न बेँसी झरेका छन्। बडीमालिका नगरपालिका–७ ढम्कने, बूढीनन्दा नगरपालिका–१, २, ३, ७, ८ र ९ तथा हिमाली गाउँपालिका–२ र ३ वडाका बासिन्दा हाल अस्थायी रूपमा बसाइँ सरेका छन्।


डोटीको सानागाउँमा अस्थायी बसोबास गरिरहेका जगत थापा (भोटे) ले मतदानका लागि गाउँ जान एक हप्ताभन्दा बढी समय लाग्ने बताए। “आफूसहित परिवारका चारै जना यतै छौँ, मतदान गर्न जान कठिन छ,” उनले भने।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाले मतदातालाई मतदानका लागि गाउँ फर्कन प्रेरित गरिने बताए। जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भीमबहादुर शाहीका अनुसार जिल्लामा ७७ मतदानस्थल र ११८ मतदान केन्द्र रहेका छन्। कुल ८७ हजार ८ सय ६१ मतदाता रहेकामा ४१ हजार ६ सय १८ महिला र ४६ हजार २ सय ४३ पुरुष छन्।




