धनगढी- नेपाली कांग्रेसका नेता गगन थापाको नेतृत्वमा बनेको नयाँ केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिम प्रदेशबाट ११ जना समेटिएका छन्। विशेष महाधिवेशनपछि गएराति घोषणा गरिएको कार्यसमितिमा सह–महामन्त्रीसहित ११ जना केन्द्रीय कमिटी सदस्य बनेका हुन्।




सुदूरपश्चिम १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको गृह प्रदेश हो। नयाँ कार्यसमितिमा बझाङका युवा नेता प्रकाश स्नेही रसाइली सह–महामन्त्री (पदाधिकारी) बनेका छन्।


केन्द्रीय सदस्यमा बझाङबाट जगत जोशी, बाजुराबाट जनक गिरी, डोटीबाट भरत खड्का, कञ्चनपुरबाट सन्तोषी ऐर साउद निर्वाचित भएका छन्।
सबैभन्दा धेरै प्रतिनिधित्व कैलाली जिल्लाबाट भएको छ। कैलालीबाट सुनिता राना, निपा चोखाल, सम्झना केसी, विजय स्वार र हिमबहादुर रावल केन्द्रीय सदस्य बनेका छन्। यस्तै, बैतडीबाट नरेन्द्र भट्ट पनि केन्द्रीय सदस्य चयन भएका छन्।




