

दार्चुला- दार्चुलाको व्यास गाउँपालिका–१ अन्तर्गत कालापानी नजिकका छाङरु र तिङ्कर गाउँका मतदाताले आगामी फागुन २१ गते हुने निर्वाचनमा जिल्ला सदरमुकाम खलङ्गामै मतदान गर्ने भएका छन् ।


जिल्ला निर्वाचन कार्यालय दार्चुलाका कार्यालय प्रमुख एवं निर्वाचन अधिकृत प्रदीपसिंह धामीका अनुसार ती गाउँका अधिकांश मतदाता हाल सदरमुकाम खलङ्गामै बसोबास गरिरहेका छन् । विगतका निर्वाचनहरूमा पनि खलङ्गामै मतदान हुँदै आएको र हाल पनि सोही अवस्था रहेकाले यसपटक पनि दुवै गाउँको मतदान केन्द्र खलङ्गामै कायम गरिएको हो ।



अत्यधिक चिसो र हिमपातका कारण गत मङ्सिरको पहिलो हप्तादेखि छाङरु र तिङ्करका सौका समुदायका बासिन्दा सदरमुकाम खलङ्गा झरेका थिए । सौका समुदायका मानिस वर्षको छ महिना छाङरु र तिङ्कर गाउँमा तथा छ महिना खलङ्गामा बसोबास गर्ने चलन छ ।
“यस क्षेत्रका सबैजसो मतदाता खलङ्गा आइसकेका छन् । छाङरु र तिङ्कर दुवै गाउँको निर्वाचन सदरमुकाममै गर्ने तयारी भइरहेको छ,” निर्वाचन अधिकृत धामीले बताए। उनका अनुसार सर्वदलीय सहमति र वडाको सिफारिसका आधारमा दुवै गाउँका मतदान केन्द्र खलङ्गामै राखिएको हो । छाङरुमा ३७५ र तिङ्करमा २४४ जना मतदाता रहेका छन् ।
यसैबीच प्रतिनिधि सभा निर्वाचनका लागि दार्चुला जिल्लामा कुल ९२ हजार ९४८ जना मतदाता कायम भएका छन्। यसमा नयाँ थपिएका २ हजार ६०८ जना मतदाता समावेश छन् । २०७९ सालको निर्वाचनमा जिल्लामा ९० हजार ७८२ जनाले मतदान गरेका थिए। हाल जिल्लामा ४७ हजार ७५५ जना पुरुष र ४५ हजार १९३ जना महिला मतदाता रहेका छन् ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला सुरक्षा समितिले आवश्यक सुरक्षा प्रबन्ध मिलाएको छ । जिल्ला सुरक्षा समिति दार्चुलाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले मतदान केन्द्रलाई तीन तहमा वर्गीकरण गरी सुरक्षा गस्ती तथा पेट्रोलिङको व्यवस्था गरिएको जानकारी दिए ।