समाजसेवी दुर्गा अधिकारीद्वारा ५ जना आर्थिक रूपमा कमजोर विद्यार्थीको क्रिकेट प्रशिक्षण शुल्क व्यहोर्ने घोषणा
अत्तरिया- सृजनशील युवा क्लबका सदस्य तथा समाजसेवी युवा दुर्गा अधिकारीले सिवाईसि अत्तरिया स्कूल अफ क्रिकेटमा अध्ययनरत आर्थिक रूपमा कमजोर ५ जना विद्यार्थीहरूको क्रिकेट प्रशिक्षण शुल्क व्यहोर्ने घोषणा गरेका छन्।



क्रिकेट खेलप्रति रुचि राखे पनि आर्थिक अवस्थाका कारण अवसरबाट वञ्चित हुन सक्ने विद्यार्थीहरूलाई लक्षित गर्दै अधिकारीले उनीहरूले प्रशिक्षण लिन चाहेको अवधिसम्म मासिक प्रशिक्षण शुल्क निरन्तर रूपमा तिरिदिने प्रतिबद्धता व्यक्त गरेका हुन्।



सिवाईसि अत्तरिया स्कूल अफ क्रिकेटका सञ्चालक तथा प्रशिक्षक रजत शाहीले समाजसेवी अधिकारीको योगदानले विद्यार्थीहरूलाई क्रिकेटप्रति थप प्रेरणा मिल्ने बताउँदै यसले क्रिकेट स्कूल सञ्चालन र समग्र खेल विकासमा सकारात्मक सहयोग पुग्ने विश्वास व्यक्त गरे।
यसैबीच, सृजनशील युवा क्लबद्वारा आयोजित सृजनशील गोदावरी सांस्कृतिक महोत्सवको अवसरमा सिवाईसि अत्तरिया स्कूल अफ क्रिकेटको तर्फबाट समाजसेवी दुर्गा अधिकारीलाई सम्मान समेत गरिएको छ।
सिवाईसि अत्तरिया स्कूल अफ क्रिकेट सृजनशील युवा क्लब अन्तर्गत सञ्चालन भइरहेको खेल संस्था हो, जसले स्थानीय स्तरमा क्रिकेट खेलको विकास तथा युवा प्रतिभा उत्पादनमा निरन्तर योगदान दिँदै आएको छ।




