


कैलाली- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली जिल्लामा १२ वटा मतदान केन्द्र थपिएका छन्। मतदाताको संख्या बढेसँगै मतदानलाई सहज र व्यवस्थापनयोग्य बनाउन निर्वाचन आयोगले केन्द्र थप गर्ने निर्णय गरेको हो।


प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार अघिल्लो निर्वाचन (विसं २०७९) मा जिल्लामा ६२९ मतदान केन्द्र रहेका थिए। यसपटक १२ केन्द्र थपिएसँगै कुल संख्या ६४१ पुगेको छ। यद्यपि, मतदानस्थल भने साविककै २३७ वटा नै कायम रहनेछन्।



यस वर्ष कैलालीमा १६ हजार ७०८ जना नयाँ मतदाता थपिएका छन्। अघिल्लो निर्वाचनमा ५ लाख ३४ हजार ३४४ मतदाता रहेकामा यसपटक कुल मतदाताको संख्या ५ लाख ५१ हजार ५२ पुगेको निर्वाचन कार्यालयले जनाएको छ। कुल मतदातामध्ये २ लाख ८० हजार २४३ महिला, २ लाख ७० हजार ७९८ पुरुष तथा ११ जना अन्य रहेका छन्।
मतदाताको चाप, भौगोलिक अवस्था र मतदानको सुगमता सुनिश्चित गर्न केन्द्र संख्या बढाइएको कार्यालयको भनाइ छ।
कैलालीमा पाँच वटा निर्वाचन क्षेत्र रहेका छन्। निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार क्षेत्र नं. ४ मा सबैभन्दा बढी १ लाख १५ हजार १४३ मतदाता रहेका छन्। त्यसैगरी क्षेत्र नं. ५ मा १ लाख १० हजार ५३९, क्षेत्र नं. ३ मा १ लाख ९ हजार १२२, क्षेत्र नं. १ मा १ लाख ८ हजार ४९१ र क्षेत्र नं. २ मा १ लाख ७ हजार ७५७ मतदाता रहेका छन्।
निर्वाचनलाई निष्पक्ष, सहज र व्यवस्थित बनाउन आवश्यक सबै तयारी समयमै सम्पन्न गरिने निर्वाचन कार्यालयले जनाएको छ।





