अत्तरिया- गोदावरी नगरपालिका अत्तरियामा करियर स्टेशन पिएफए भेट्रान्स कप क्रिकेट प्रतियोगिता २०८२ आयोजना हुने भएको छ । प्रतियोगिताको सातौँ संस्करण पौष १५ गतेदेखि पौष २६ गतेसम्म सञ्चालन हुने आयोजक पिएफए स्पोट्र्स क्लब ले जनाएको छ ।


शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता (टी–२०) फर्म्याटमा सञ्चालन गरिने जानकारी दिइएको हो । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहनेछ । खेलहरू आईसीसीका नियमअनुसार सञ्चालन गरिनेछ भने प्रत्येक टिमले ११ खेलाडी खेलाउन र बढीमा १६ खेलाडी दर्ता गर्न पाउने व्यवस्था गरिएको छ । सहभागी खेलाडीको उमेर ४० वर्ष पूरा भइसकेको हुनुपर्ने नियम लागू गरिएको छ ।


प्रतियोगिताको विजेता टिमले नगद १ लाख ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ६५ हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

व्यक्तिगत विधातर्फ म्यान अफ द सिरिज लाई १५ हजार रुपैयाँ नगद, बेस्ट ब्याट्सम्यान र बेस्ट बलर लाई जनही १०–१० हजार रुपैयाँ प्रदान गरिनेछ । साथै बेस्ट भेट्रान अवार्ड ट्रफी तथा प्रमाणपत्र र प्रत्येक खेलमा म्यान अफ द म्याच ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा पिएफए स्पोट्र्स क्लबकी उपाध्यक्ष भगवती साउदले भेट्रान्स खेलाडीहरूलाई खेलकुद मार्फत पुनः सक्रिय बनाउने, स्थानीयस्तरमा क्रिकेटको विकास गर्ने र खेल भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइन् ।
प्रतियोगिताको मुख्य प्रायोजक करियर स्टेशन एजुकेसन सर्भिस सेन्टर, काठमाडौं रहेको छ भने मुख्य प्रवर्द्धक गोदावरी नगरपालिका रहेको छ।
प्रतियोगितामा सहभागी टिमहरूमा अत्तरिया सिटी क्रिकेट क्लब, कैनोडा लाईन्स, न्यू ग्वासी साहारा क्यापिटल्स, अनुपमा अलराउन्डर्स, बुढाबाघ, गेटा रोयलर्स, महेन्द्रनगर व्याइज र गुलरिया बुल्स रहेका छन् ।





