लक्ष्मी भट्ट/अत्तरिया- धनगढी उपमहानगरपालिकामा फुटपाथ सफा र समस्यारहित देखिए पनि गोदावरी नगरपालिकाअन्तर्गत पर्ने अत्तरिया बजार क्षेत्रमा भने फुटपाथ अतिक्रमण, अवैध पार्किङ र फोहोर व्यवस्थापनको समस्या गम्भीर बन्दै गएको स्थानीयवासीले बताएका छन् ।



व्यवसायी तथा स्थानीयका अनुसार बजार क्षेत्रमा फुटपाथमा सामान राख्ने, मोटरसाइकल–साइकल तथा ठेला जथाभावी पार्किङ गर्ने प्रवृत्ति बढ्दै जाँदा पैदलयात्रीहरूलाई सहज आवतजावत गर्न कठिनाइ भएको छ । यस्तो अव्यवस्थित पार्किङका कारण दुर्घटनाको जोखिम समेत बढेको उनीहरूको भनाइ छ । साथै फुटपाथ तथा सडक किनारमा सामाग्री फैलाउँदा सहरको सौन्दर्यसँगै बजारको नियमित सञ्चालनमा समेत असर परेको बताइन्छ ।



यसबाहेक बजार क्षेत्रमा फोहोर राख्ने डस्टबिनको अभाव भएका कारण मानिसहरूले फोहोर यत्रतत्र फाल्ने गरेका छन्, जसले बजारलाई फोहोर र दुर्गन्धयुक्त बनाएको स्थानीय व्यवसायीहरूको गुनासो छ ।
अत्तरिया कृषि उपज तथा थोक बजार बाहिरी क्षेत्रमा पनि बिहानको समयमा अत्यधिक भीड हुने भएकाले ग्राहक तथा पैदल हिँड्नेहरूलाई असुविधा हुने गरेको थोक बजार व्यवस्थापन समितिका व्यवस्थापक कमलप्रसाद जोशीले बताए ।
त्यसैगरी स्थानीय बासिन्दा तथा औषधि व्यवसायी जयप्रसाद भट्टले बजार क्षेत्रमा देखिएको अव्यवस्थित अवस्था नगरपालिकाको व्यवस्थापन कमजोर भएकै कारण भएको उल्लेख गर्दै, बजार व्यवस्थापन समिति, नगरपालिका तथा अन्य सरोकारवाला निकायहरूले समस्या गम्भीर रूपमा बुझेर तत्काल समाधान गर्नुपर्ने आवश्यकता औंल्याए ।
स्थानीयको मागअनुसार सम्बन्धित निकायहरूले बजार क्षेत्रमा फुटपाथ अतिक्रमण रोक्ने, अवैध पार्किङ नियन्त्रण गर्ने तथा फोहोर व्यवस्थापन सुधार गर्ने कदम चाँडै चाल्नुपर्ने देखिन्छ ।




