

काठमाडौं- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बुधबार) काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । सोमबारको उद्घाटन खेलमा साविक विजेता जनकपुरलाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको काठमाडौं उच्च मनोबलका साथ दोस्रो खेलमा सहभागी हुनेछ । साविक उपविजेता सुदूरपश्चिमसँगको खेल काठमाण्डुका लागि महत्त्वपूर्ण बन्नेछ । सुदूरपश्चिमसमेत विजयी सुरुवात गर्दै अंक जोड्न चाहन्छ ।


काठमाण्डु र सुदूरपश्चिम खेल आज दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । काठमाण्डुका कप्तान करण केसी हुन् भने सुदूरपश्चिमको नेतृत्व अलराउन्डर दीपेन्द्रसिंह ऐरीले गरेका छन् ।


सुदूरपश्चिम अघिल्लो अर्थात् एनपीएल पहिलो सिजनको उपविजेता टोली हो। सुदूरपश्चिम पहिलो सिजन फाइनलमा जनकपुरसँग पराजित भएको थियो । अघिल्लो सिजनमा भित्र्याएका न्यूजिल्याण्डका बलिङ अलराउन्डर स्कट कुगेइलिन र अमेरिकाका हर्मित सिंहलाई सुदूरपश्चिमले यो सिजनसमेत स्वागत गरेको छ । अस्ट्रेलियाका जोश ब्राउन र क्रिस लिनलाई विदेशी खेलाडीको रुपमा ल्याएको छ ।

सुदूरपश्चिममा कप्तान दीपेन्द्रसँगै विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत, नरेन साउद र दीपेन्द्र थापा समेटिएका छन् । अरु जतिसुकै ठुलो लाइनअप देखिए पनि सुदूरपश्चिम कप्तान ऐरीमा मात्र भर पर्ने देखिन्छ ।
एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुँदै छन्। नेपाल क्रिकेट सङ्घ ९क्यान०ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ।
एनपीएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने छ। एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।
प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ। क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार रुपियाँ तय गरेको छ। एनपीएलमा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

