सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा कैलालीका पर्यटकीय स्थल व्यवस्थित

धनगढी- पछिल्लो समय टिकटक र भिडियोमार्फत चर्चामा आएका कैलालीका पर्यटकीय स्थलहरू सुदूरपश्चिम प्रदेश सरकारको अनुदानपछि व्यवस्थित बन्दै गएका छन् । आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको कैलालीको मोहन्याल गाउँपालिकास्थित आमपानी झरनामा पूर्वाधार निर्माण गरी अझ आकर्षक बनाइएको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन एकाइ प्रमुख डबलबहादुर बोहोराका अनुसार झरनासम्म पुग्ने पदमार्ग र नुहाउने स्थानको जग निर्माणका लागि प्रदेश सरकारले ३६ लाख रुपैयाँ खर्च गरेको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यसैगरी कैलालीको गौरीगंगा नगरपालिका–१, चौमालास्थित मोहन्याल धार्मिक वनक्षेत्रभित्र नक्षत्र वाटिका निर्माण गरिएको छ । प्राकृतिक सौन्दर्य संरक्षण र मौलिक धार्मिक संस्कृति जोगाउने उद्देश्यले निर्माण गरिएको उक्त वाटिका २५ लाख रुपैयाँ लागतमा तयार भएको हो । वास्तुशास्त्र अनुसार नौ ग्रह, १२ राशि र २७ नक्षत्रको सन्तुलन मिलाएर वाटिका निर्माण गरिएको बताइएको छ । २७ नक्षत्रअनुसार २७ प्रजातिका बिरुवा समेत रोपिएका छन् ।

प्रदेश सरकारले धार्मिक पर्यटनलाई प्रोत्साहन दिने उद्देश्यले बेहडबाबा मन्दिर क्षेत्रमा १ करोड ४२ लाख रुपैयाँमा प्यागोडा शैलीको मन्दिर निर्माण गरेको प्रमुख बोहोराले जानकारी दिए । त्यस्तै अत्तरियामा ७ लाख रुपैयाँ लागतमा बाह्रसिंगा मूर्ति निर्माण, भादा र नुक्लीपुरलगायत स्थानमा होमस्टे, सामुदायिक भवन तथा गेस्ट हाउस निर्माणका लागि समेत सहयोग गरिएको छ ।

प्रदेश सरकारले विभिन्न धार्मिक, सांस्कृतिक र प्राकृतिक स्थललाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने गरी लगानी बढाइरहेको जनाएको छ ।

Loading...