गोदावरीका दुर्गम गाउँका वडामा अहिले आधारभूत पूर्वाधार र सेवा सुविधाहरू विस्तार हुँदै

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाका दुर्गम वडाहरू ११ र १२ बिस्तारै विकासको मूल धारमा प्रवेश गरिरहेका छन् । पहाडी भू–भाग समेत रहेका यी वडामा अहिले आधारभूत पूर्वाधार र सेवा सुविधाहरू विस्तार हुँदै गएको हो । स्थानीयवासीले अब अभावभन्दा पनि सम्भावना देख्न थालेका छन् ।

दुई कार्यकालदेखि वडा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका भीम बहादुर खड्का २०४२ सालमा डोटीबाट गोदावरी आएका थिए । उनका अनुसार, त्यो बेलामा यहाँ न बाटो थियो, न त स्वास्थ्य सेवा । सर्पको टोकाइबाट वर्षैपिच्छे मानिसको ज्यान जान्थ्यो भने खानेपानीको चरम अभाव थियो ।

Navadurga sun
Godawari sandesh

‘पहिले खोलामा पुल थिएन, बाटो थिएन, औषधोपचार पाउनै मुस्किल थियो, खड्का सम्झिन्छन्, तर अहिले घर–घरमा धारा पुगेको छ, शुद्ध पानी पिउन पाइन्छ ।’

चार वर्षअघि रोटरी क्लबको लगानीमा बनेको खानेपानी ट्यांकीले सेवा सहज बनाएको छ भने तारा खानेपानी योजना मार्फत पनि शुद्ध पानी वितरण हुँदै आएको छ । वडाको तराई क्षेत्रमा टोल–टोलमा फराकिला बाटाहरू बन्दै गएका छन् । चौकीडाँडा–फल्टुडे सडक गोदावरी ३, १०, ११ र १२ हुँदै निर्माणाधीन छ । यो आर्थिक वर्षभित्र गोदावरी–१२ कृष्णमन्दिर सडक कालोपत्रे हुनेमा स्थानीय आशावादी छन् ।

Dadeldhura hospital

वडा १२ को चाप सल्लीमा निर्माणाधीन बर्थिङ सेन्टर सुरुवाती चरणमै रहेको छ । हालसम्म जनशक्ति अभावकै कारण सेवा प्रभावकारी हुन सकेको छैन ।

चालु आर्थिक वर्षमा ७ जना महिलाले मात्र सेवा लिएका छन् भने अघिल्लो वर्ष १७ जनाले सेवा लिएका थिए । नायलसम्म विद्युतीकरण पुगेको छ भने अन्य क्षेत्रमा बत्ती बलिसकेको छ । तर, गाउँलेको स्थायित्व भने चुनौतीको रूपमा देखिएको छ । वडा अध्यक्ष खड्काका अनुसार वडाका २० प्रतिशत घरमा ताला लागेको छ । अधिकांश महिला–पुरुष रोजगारीको सिलसिलामा भारत गएका छन् भने नयाँ पुस्ता तेस्रो मुलुकतर्फ गइरहेका छन् ।

यस क्षेत्रका पुराना बासिन्दा तेजराज भट्ट, जो २०३८ सालदेखि त्यहीं बसोबास गर्दै आएका छन्, भन्छन्, अहिले त बाटो छ, पुल छ, अस्पताल र विद्यालय छ, अत्तरिया पुग्न सजिलो छ । पहिलेको तुलनामा निकै सुविधा बढेको छ ।’

कृषिमा पनि यहाँ अपार सम्भावना रहेको अध्यक्ष खड्काको भनाइ छ । ‘बाख्रा, कुखुरा, बोका दिएर अनुदान दियौं, खोर सुधार कार्यक्रम गर्यौं, तर किसानले निरन्तरता नदिएकाले दिगो बन्न सकेन, उनले भने । उनले बाख्रापालनलाई पकेट क्षेत्र बनाए यहाँको जीवनस्तर सुधार गर्न सकिने बताए । जंगल नजिकै भएकाले बाख्रापालनका लागि यहाँ उपयुक्त वातावरण रहेको उनको बुझाइ छ ।

छाउपडीजस्ता पुराना कुप्रथाहरू हराउँदै गएका छन् भने एचआईभी संक्रमितको संख्या पनि घट्दै गएको छ, जसले सामाजिक परिवर्तनलाई पनि संकेत गरेको छ ।

Loading...