डडेल्धुरा– सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध उग्रतारा मन्दिरमा हरेक वर्ष कार्तिक पुर्णिमा लाग्ने मेला यही मंसिर १२ गते लाग्ने भएको छ । जेहिजाँतको नामले प्रशिद्ध मेला हरेक वर्ष कार्तिक शुक्ल पुर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ । मंसिर ११ गते रतेडी र १२ गते दिउसेडी लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ ।




छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि ‘दिउसेडी’ मेला सुरु हुन्छ । डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका-८ को सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थी पूजा-आराधना गर्न पुग्छन् ।


देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेश, कणर्ाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेज बहादुर साँकीले बताए ।




