खाद्य कम्पनीले धान नकिन्दा सस्तोमा बेच्न बाध्य छन् किसान

धनगढी- सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापारले समयमै धान नकिन्दा कैलालीका किसान बजारमा सस्तोमा बेच्न बाध्य भएका छन् । किसानले धानको न्यूनतम मूल्य नपाउने समस्या हल गर्न भन्दै सरकारले रोपाइँताका अर्थात् २६ असारमा नै धानको समर्थन मूल्य तोकेको थियो ।

तर, किसानबाट धान किनेर बजारमा प्रतिस्पर्धी भाउ बनाउने जिम्मा पाएको कम्पनीले कात्तिक दोस्रो सातासम्म पनि खरिद गरेको छैन । जसकारण यहाँका किसान न्यूनतम समर्थन मूल्यभन्दा पनि कम भाउमा धान बेच्न बाध्य भएका हुन् ।

Navadurga sun

धान बेचेर हिउँदे खेतीका लागि खर्चको जोहो गर्नुपर्ने भएकाले किसानहरू व्यापारीले भनेकै मूल्य अर्थात् मोटो धान प्रतिक्विन्टल अधिकतम दुई हजार ७५० र मसिनो धान प्रतिक्विन्टल अधिकतम दुई हजार नौ सय रुपैयाँमा बिक्री गरिरहेका हुन्  ।

जब कि सरकारले ६ असारमा ०८०/८१ का लागि मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार १९८ रुपैयाँ र मध्यम मसिनो धानको प्रतिक्विन्टल तीन हजार तीन सय ६२ रुपैयाँ मूल्य तोकेको थियो ।

सरकारी कम्पनीले धान खरिद सुरु नगर्दा पनि व्यापारीबाट धानको उचित मूल्य नपाएको किसानको गुनासो छ । ‘धान बेचेरै गहुँका लागि बिउ, मलखाद, खनजोत, सिँचाइका लागि खर्चको जोहो गर्नुपर्छ ।

चाडबाडका वेला घरखर्च पनि जुटाउनुपर्‍यो,’ धनगढीका किसान मोहन रानाले भने, ‘सरकारले किन्ने वेलासम्म पर्खिए गहुँ लगाउने समय गइसक्छ । त्यही भएर गल्लावाला ९व्यापारी०ले भनेको भाउमै बेचिदिएँ ।’

खाद्यले न्यूनतम समर्थन मूल्यमा धान खरिद सुरु गरे प्रतिस्पर्धा हुने भएकाले व्यापारीले पनि मूल्य बढाएर खरिद गर्छन् । यद्यपि, खाद्यले थोरै मात्रामा धान किन्ने भएकाले त्यहाँ पनि किसानलाई बिक्रीका लागि सहज हुँदैन ।

खाद्यले ढिलो खरिद गर्ने भएकाले त्यसअघि व्यापारीले मिलेमतोमा कम मूल्य तोक्ने गरेको अर्का किसान सन्तुराम चौधरीले बताए । लगानी र मिहिनेतअनुसार धानको उचित मूल्य नपाए पनि कुनै निकायले चासो नदिएको उनको गुनासो छ ।

‘सरकारले तोकिदिएको न्यूनतम मूल्य पनि पाइएको छैन,’ उनले भने, ‘व्यापारीले तोक्ने मूल्यमा धान बेच्नुपर्छ ।’ धान बेचेरै हिउँदे खेती लगाउनुपर्ने बाध्यतामा रहेका किसानको फाइदा व्यापारीले उठाउने गरेको उनले बताए ।

तर, खाद्यको प्रादेशिक कार्यालय धनगढीका प्रमुख इन्जिला बस्नेतले भने काट्नेबित्तिकैको धानको तौल पछि घट्ने भएकाले अलिक ढिलो गरी खरिदको योजना रहेको सुनाइन् । ‘काट्नेबित्तिकै धानमा चिस्यान बढी हुन्छ ।

चिस्यान बढी भएको धान लामो समय भण्डारण गर्न समस्या हुने र पछि तौल घट्ने भएकाले पनि खरिदमा केही ढिलो हुन्छ,’ बस्नेतले भनिन् । खाद्यले खरिद गर्ने धानमा चिस्यान बढीमा १५ प्रतिशत हुनुपर्ने मापदण्ड तोकेको उनले बताइन् ।

ADD Khali jpg
Loading...