कैलालीमा व्यापारीले भनेकै मूल्यमा किसान धान बिक्री गर्न बाध्य

कैलाली– कैलालीका किसानले धान बिक्री शुरु गरेका छन् । खाद्य संस्थानले धान खरिदमा ढिलाइ गर्दा स्थानीय व्यापारीसँग उनीहरूले भनेकै मूल्यमा धान बिक्री गर्नुपरेको उनीहरूको गुनासो छ ।

‘सरकारले तोकेको मूल्यमा व्यापारी किन्न मान्दैनन् । हाम्रो बिक्री गर्नुपर्ने बाध्यता छ’, किसान हरिमाया चौधरीले भने, ‘दशैँ-तिहार खर्च जुटाउन, गहुँबालीका लागि बीउ, मल र खेत जोताइ खर्च गर्न पनि धान बिक्री गरिहाल्लनु पर्ने भयो । त्यसैले धेरै घाटा भयो ।’ रुहरिमाया जस्तै अधिकांश किसान यतिबेला धान बिक्रीका लागि स्थानीय व्यापारीले भनेकै मूल्य स्वीकारि रहेका छन् ।

Navadurga sun

कैलालीमा नेपाल खाद्य संस्थानले भने यही कार्तिक अर्को साताबाट धान खरिद गर्ने बताएको छ । कार्तिक तेस्रो साताबाट धान खरिदको तयारी भइरहेको नेपाल खाद्य संस्थान सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख एन्जिला बस्नेतले बताइन् । ‘अर्को हप्ताबाट शुरु गर्ने तयारी छ । टीकापुर र धनगढीमा खरिद गर्ने हो’, उनले भनिन्, ‘नागरिकको गोदाम भाडामा लिएर खरिद गर्दा समस्या हुन्छ । त्यसैले गोदाम भएका ठाउँबाटै खरिद गर्ने तयारी छ ।’

संस्थानले यो वर्ष कैलालीमा ६० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । टीकापुर र धनगढीबाट पहिलो चरणमा धान खरिद गर्ने तयारी भएको उनले बताइन् । ‘किसानका धान सहजरूपमा खरिदका लागि धान मौज्दात राख्न गोदाम भएका स्थानबाटै खरिद गर्ने तयारी छ’, उनी भन्छन्, ‘हामीले सरकारले तोकेकै मूल्यमा खरिद गर्छौँ ।’

सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । सरकारले मोटा धान प्रतिक्विन्टल ३ हजार १ सय ९८ र मध्यम धानप्रति क्विन्टल ३ हजार ३ सय ६२ न्यूनतम समर्थन मूल्य तोकेको छ । संस्थानले सरकारले तोकेको मूल्यमा धान गरिद गर्ने गरेता पनि समयमा सरकारी काँटा नलगाउँदा धेरै किसानले सस्तो दरमा गल्ला तथा स्थानीय व्यापारीलाई बेच्नु पर्ने बाध्यता छ ।

ढिलो खरिद शुरु गरे पनि संस्थानले खरिद गर्ने स्थानमा किसानलाई धेरै सास्ती सँगै हप्ता दिन सम्म बसेर बेच्नु पर्ने भएकाले समयमा सहज रूपमा धान खरिद गर्ने वातावरण मिलाउन आवश्यक रहेको किसानको माग छ । ‘निश्चित कोटा र ढिलो खरिद शुरु हुन्छ, किसानको उत्पादन धेरै हुन्छ, त्यसैले बिक्री स्थलमा ठूलो भीड लाग्छ’, किसान दीपक चौधरीले भने ‘त्यसैले पनि किसानले उचित मूल्य पाउन सकेका छैनन्, पालो कुर्नु भन्दा व्यापारी कहाँ कम मूल्यमै बिक्री गर्ने गरेका छन् ।

ADD Khali jpg
Loading...