धनगढी, ६ असोज । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले असोज २१ र २२ गते हुने पहिलो प्रदेश अधिवेशनले सर्वसम्मतिले नेतृत्व छनोट गर्ने बताएका छन् ।






एमाले सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशनको शनिबार लागो सार्वजनिक गर्दै यस्तो बताएका हुन् । नेपालको चुच्चे नक्सा, दोधारा चाँदनीको झोलुङ्गे पुल, धार्मिक तथा पर्यटकीय क्षेत्र, तराईको खाद्यान्न भण्डार, प्रमुख नदी झल्किने गरेर पहिलो अधिवेशनको लोगो बनाइएको उनले बताए ।
एमालेका प्रदेश अध्यक्ष दामोदर भण्डारीले सोही कार्यक्रममा दिएको जानकारी अनुसार सो अधिवेशनको पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने छन् । अध्यक्ष भण्डारीले ५३ हजार २ सय ५२ पार्टी सदस्यबाट झण्डै छसय प्रतिनिधि छानिने बताए । तीमध्ये १ सय २० जनाको हाराहारीमा जनसङ्गठनबाट अप्रत्यक्ष रुपमा प्रतिनिधि छानिएर आउने भएका हुन् ।
सुदूरपश्चिममा असोज १५ गते अधिवेशनका प्रतिनिधि छनौट भइसक्ने अध्यक्ष भण्डारीले बताए । प्रत्यक्ष रूपमा प्रतिनिधि छान्न अन्य तर्फ १ सय र दलिततर्फ ७५ बराबर एक जना प्रतिनिधि छानिने व्यवस्था छ । अन्य तर्फका प्रतिनिधि पालिकास्तरबाट र दलित तर्फका प्रदेश निर्वाचन क्षेत्रबाट छानिने व्यवस्था सो पार्टीले गरेको छ ।
यसैगरी छानिने प्रतिनिधिमा ३३ महिला र १० प्रतिशत युवा अनिवार्य गरिएको अध्यक्ष भण्डारीले बताए । अधिवेशनका लागि विभिन्न समितिहरू पनि गठन गरिएको छ ।