पुल निर्माण अलपत्र

धनगढी- कैलालीको पथरैया नदीमा पुल निर्माण कार्य विगत छ वर्षदेखि अलपत्र परेको छ। निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुल निर्माणको काम अलपत्र परेको हो।

लम्कीचुहा नगरपालिका–९, सोनपुर र जोशीपुर गाउँपालिकाको सिमराना जोड्ने पुल निर्माण कार्य शुभारम्भ नहुँदै अलपत्र परेको हो। पुल बनाउनका लागि खाल्डो खनिएका छन् तर अन्य बाँकी काम नगरी निर्माण कम्पनी विगत छ वर्षसम्म सम्पर्कविहीन बनेको आरोप स्थानीयवासीको छ। सङ्घीय सरकारको लगानीमा उक्त नदीमा पुल निर्माणका लागि २०७४ सालमा ठेक्का सम्झौता भएको थियो।

Navadurga sun

करिब ५२ मिटर लामो पुल बनाउन एडभेन्चर कन्स्ट्रक्सन प्रालिले छ करोड ७३ लाख रुपियाँ लागतमा ठेक्का पाएको हो तर निर्माण कम्पनी खाल्डो खनेर फरार भएको आरोप स्थानीय पालिकावासीको छ। यसअघि पुल निर्माण अवधि सकिने बेला हुनै लाग्दा स्थानीयवासी तथा जनप्रतिनिधिले निर्माण कम्पनीका सञ्चालकलाई बारम्बार घचघचाए पनि कुनै सुनुवाइ नै नभएको प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीले बताए ।

उनले पुल निर्माण कार्य सम्पन्न गर्न सङ्घीय सदनमै आवाज उठाएको बताउनुभयो। अब ठेक्का पाएको निर्माण कम्पनीसँग सम्झौता तोडेर भए पनि पुल निर्माण गर्नुपर्ने उनको भनाइ छ। “सकेसम्म अहिलेकै निर्माण कम्पनीले पुल बनाओस् भन्ने चाहना हो,” उनले भने, “यदि यस्तै ढिलासुस्ती हुन्छ भने सम्झौता तोडेर पुल बनाउन लाग्ने प्रयास रहन्छ।”

लम्कीचुहा नगरपालिकाको सोनपुर र जोशीपुर गाउँपालिका जोड्ने स्थानमा पुल नहुँदा स्थानीयले सास्ती भोग्दै आएका छन्। उनीहरूले यथाशीघ्र पुल बनाउन ठेकेदारलाई आग्रह गरेका छन्। निर्माण कम्पनीका प्रबन्ध निर्देशक चन्द्रशेखर मल्ल चालु आर्थिक वर्षको असार मसान्तसम्म पुल बनाइसक्ने बताए । विविध कारणले विगतमा पुल बनाउन नसकेको स्वीकार्दै उनले भने, “यो आर्थिक वर्षभित्र पुल निर्माण हुन्छ। विगतमा जे भयो भयो तर अब पुल बन्छ।”

चालु आर्थिक वर्षमा पुल निर्माणका लागि ३४ लाख रुपियाँ बजेट विनियोजन भएको सडक डिभिजन कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। छ वर्षसम्म पुल निर्माण कार्य अलपत्र पारेको ठेकेदार सम्पर्कमा आएकाले यो वर्ष पुल निर्माण हुनेमा आफू ढुक्क रहेको कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...