सुदूरपश्चिममा ‘ठूली गौरा’ मनाइँदै

बैतडी- सुदूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत आज ‘ठूली गौरा’ मनाइँदै छ। व्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन्। स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालु महिलाले विशेष दिनको रूपमा लिने गरेका छन्।

यो वर्ष विवाद भएपछि दुई गौरा भएका छन्। कुनै ठाउँमा भदौ ७ देखि सम्पन्न भइसकेको छ भने कुनै ठाउँमा भदौ १८ गतेदेखि शुरु भएको हो। व्रतालु महिलाले बिहानै नुवाइधुवाइ गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन छ।

Navadurga sun
Godawari sandesh

आज अमुक्ताभरण सप्तमीका दिन व्रतालु महिलाहरू एक ठाउँमा जमा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रहेको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी बिस्ना भाटले बताइन्। गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरेर व्रतालु महिलाले फलफूल र बिरुडाले गौरादेवीको पूजा गरिन्छ।

Dadeldhura hospital

व्रतालु महिलाले धारण गर्ने विशेष प्रकारको धागो अर्थात् दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ। यसका साथै साँझको समयमा व्रतालु महिलाले कुण्ड स्नान गर्छन्।

आजको गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन व्रतालु महिलाले धारण गर्ने गर्छन्। गौरापर्वको मुख्य दिन आज सप्तमीको दिनमा गौरा र महेश्वरको पूजा गरी व्रतालु महिलाले राति मिठोमसिनो खाना खाने चलन छ।

गौराको मुख्य दिन भोलिपल्ट दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन महिलाहरूले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रहेको संस्कृतिका जानकार जयानन्द भट्टले बताए।​

गौरा देवी अर्थात् पार्वतीले निराहार आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ। त्यति वेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको छ। तागाधारी पुरुषले जनै धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरूले गौराको समयमा दुबधागो धारणा गर्ने गर्छन्।

Loading...