धनगढी- कैलालीको गोदावरी नगरपालिकास्थित धार्मिक पर्यटकीय स्थल गोदावरी धाम बाढीले तहसनहस भएको छ । सोमबार रातिदेखि अविरल परेको वर्षासँगै आएको बाढीले निर्माण गरिएका भौतिक संरचनामा क्षति पुगेको छ ।




स्थानीयका अनुसार शिव मन्दिर, विष्णु मन्दिर, संस्कृत पढाइ हुने विद्यालयमा क्षति पुगेको छ । साथै पर्यटनको गन्तव्य बनेको गोदावरी काठे पुलमा पनि क्षति पुगेको छ ।


यसैबीच बाढीमा फसेकाहरुलाई सोमबार राति १० बजे स्थानीयहरुले उद्धार गरेका छन् । गोदावरी नदीमा फसेका ६ जनाको राति नै उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीको कमान्डमा ११ जनाको प्रहरी टोली, सँगै नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नदीको बीच भागमा फसेकाहरूको उद्धार गरिएको थियो ।

