

धनगढी- डडेल्धुरामा गौरा पर्व भदौ ७ गते मनाइने भएको छ । यहि साउन २ गते नेपाल पञ्चाङ्ग निर्णयकसमितिले एक विज्ञप्ति सार्वजनिक गर्दै भदौ ७ गते नै गौरा पर्व रहेको जानकारी गराएको थियो । मानस खण्ड पञ्चाङ्गमा भदौ २१ गते गौरा पर्व रहेको सार्वजनिक भएपछि अन्यौलता बढेको थियो ।



तर, शनिवार डडेल्धुरामा भएको छलफलले भदौ ७ गते नै उपयुक्त भएको र ७ गते नै गौरा पर्व मनाउने निर्णय गरिएको ज्योतिष पण्डित जयप्रकाश जोशीले बताए । ‘बरु २१ गते गौरा पर्व मनाउँदा हानी नोक्सानीको योग रहेकाले उपयुक्त छैन,’ उनले भने।


शनिवार डडेल्धुराको उग्रतारा मन्दिरमा गौरा पर्वको मिति तय गर्ने विषयमा छलफल भएको थियो । सदियौँदेखि एक आपसमा भाईचारा स्थापना गरी धार्मिक, सांस्कृतिक पहिचान बोकेको गौरा पर्व मनाइने परम्परा र दिन एउटै होस भन्ने उद्देश्यका साथ छलफल गरिएको उग्रतारा वेद विद्याश्रमका प्राचार्य प्रेमराज भट्टले बताए । गौरा पर्व सुदूरपश्चिम र कर्णाली प्रदेशको पहिचानका रूपमा रहेको छ । भारतको कुमाउ र गडवालमा समेत यो पर्व मनाइन्छ ।