नगरपालिकाको बेवास्ताका कारण दुई वर्षदेखि अलपत्र टीकापुरको घण्टाघर

टीकापुर- शहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीले झण्डै दुई वर्षअघि निर्माण सम्पन्न गरेको टीकापुरस्थित घण्टाघर अलपत्र परेको छ । कार्यालयले झण्डै सात महिनाअघि नै टीकापुर नगरपालिकालाई हस्तान्तरण गरिसकेको भए पनि नगरपालिकाको बेवास्ताका कारण घण्टाघर सञ्चालन नहुँदा अलपत्र परेको हो ।

Ganyapdhura gau

वडा नं. १ को ब्लक नं. १९ मा ३ करोड २६ लाख ४२ हजार रुपैयाँको लागतमा रोयल प्रशंसा जेभी निर्माण कम्पनीले २०७५ फागुन १९ गते घण्टाघर निर्माणका लागि सम्झौता गरेको थियो । सम्झौता अनुसार निर्माण कम्पनीले २०७७ भदौ २५ गते काम सम्पन्न गर्नुपर्ने भए पनि कोरोना संक्रमणका कारण २०७८ मा निर्माण सम्पन्न भएको घण्टाघर अझै सञ्चालन हुने निश्चित छैन ।

Navadurga sun
Godawari sandesh

घण्टाघरलाई भ्यु टावरका रूपमा पनि प्रयोग गर्न सकिने गरी निर्माण गरिएको छ । यहाँबाट टीकापुरको अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ। २६ मिटर उचाइ रहेको यो घण्टाघरबाट टीकापुर बजार क्षेत्रको अवलोकन गर्ने सकिनेछ । पहिलो तलामा रेष्टुरेन्ट सञ्चालन गर्न सकिनेछ भने घण्टाघरमा प्रवेशद्वार, सुरक्षागार्ड चौकी, शौचालय, टिकट काउण्टर निर्माण गरिएको छ ।

स्थानीयहरू भने घण्टाघरको उचाई निकै कम भएकाले यहाँबाट केही घरबाहेक अन्य दृश्य देख्न नसकिने आरोप लगाउँदै आएका छन् । घण्टाघर नजिकै बस्दै आएका स्थानीय भुपेन्द्र खड्काले खानेपानीको ट्यांकी भन्दा घण्टाघर सानो भएकाले यसबाट दृश्यावलोकन गर्न गाहे हुने बताउँछन् ।

Dadeldhura hospital

‘पूर्वतिरका केही घर,उत्तरतिरको केही बजार र दक्षिणतिरको खुल्ला मञ्च हेर्न सकिन्छ,’ खड्काले भने ‘अझै दुई चार तला माथि भएको भए टीकापुर पूरै हेर्न सकिने थियो, घण्टाघर नजिकै रहेको खानेपानी ट्यांकी भन्दा होचो छ ।’

निर्माण सम्पन्न भएको लामो समय भइसक्दा समेत सञ्चालनका लागि नगरपालिकाले कुनै पहल नगरेको स्थानीय कृष्ण कडायतले बताए । ‘दुई वर्ष भइसक्यो निर्माण भएको अहिलेसम्म केही सुरसार छैन,’ उनले भने ‘नगरपालिकाको लापरवाहीले राजश्वमा घाटा भइरहेको छ, समयमा सञ्चालन गरे राजश्व उठ्ने थियो ।’

उता,आयोजना कार्यालय धनगढीका इञ्जिनियर सन्तोष जेठाराले ७ महिना अघि नै सञ्चालनका लागि नगरपालिकालाई पत्रसहित हस्तान्तरण गरिएको बताए । ‘हामीले ६/७ महिना अगाडि नै नगरपालिकालाई पत्रसहित हस्तान्तरण गरिसकेका छौं,’ इञ्जिनियर जेठाराले भने, ‘खै नगरपालिकाले अहिलेसम्म किन सञ्चालन गर्न सकेन ?’

घण्टाघर सञ्चालन नहुँदा त्यहाँ प्रयोग गरिएका चारवटा घडी समेत बन्द अवस्थामा छन् । निकै सानो आकारको घडी भएकाले समय हेर्न गाहे हुने बताउँदै स्थानीयहरूले उक्त घडी फेर्न माग गर्दै आएका थिए । सञ्चालन नहुँदा भने तिनै घडी समेत बन्द छन् ।

टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले घण्टाघर सञ्चालनको तयारी भइरहेको बताए । ‘घण्टाघर सञ्चालनको तयारी गरिरहेका छौं, कार्यपालिकाको बैठकबाट दररेट तय गरेर निर्णय हुन बाँकी छ’ नगर प्रमुख डगौराले भने ‘दररेट तय गरेर छिट्टै टेण्डर प्रक्रियाबाट सञ्चालनका लागि सूचना प्रकाशित गर्ने गरी काम भइरहेको छ ।’ भ्यु टावरसहित स्थानीय पर्यटकका लागि रिफ्रेस हुने क्यान्टिन भएको घण्टाघर सञ्चालन नहुँदा जीर्ण बन्ने खतरा बढेको स्थानीयहरू बताउँछन् । अन्नपूर्णबाट

Loading...