धनगढी- अफ्रिकन स्वाइन फिभरबाट बर्दिया राष्ट्रिय निकुञ्जमा दुई साताभित्र ४ वटा बँदेल मरेका छन् । बँदेलको पोष्टमार्टमपछि प्राप्त नमूनाको केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणबाट अफ्रिकन स्वाइन फिभरबाट मृत्यु भएको पुष्टि भएको हो ।



पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा. नरेश प्रसाद जोशीका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा मृत फेला परेको बँदेलको पोष्टमार्टम गरी रोग यकिन गर्न नमूनाहरु संकलन गरी केन्द्रीय प्रयोगशालामा पठाइएको थियो ।


‘धनगढीबाट थप परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएकोमा नमूना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर भएको पुष्टी भएको हो,’ डा . जोशीले भने ।
उनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जभित्र केही दिनअघि २ जंगली बँदेल मृत अवस्थामा फेला परेपछि निकुञ्ज प्रशासनले पोष्टमार्टम गरि रोग यकिन गर्न परीक्षणका लागि पशुपंक्षी रोग अन्वेषष प्रयोगशाला धनगढीमा पठाएको हो ।

उनकाअनुसार नेपालमा जंगली बँदेलमा पहिलोपटक गत फागुन १९ मा शुक्लाफॉटा राष्ट्रिय निकुञ्जमा मृत फेला परेको बँदेलमा अफ्रिकन स्वाइन फिभर पुष्टी भएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले निकुञ्जभित्र सुरुमा ८र/० दिनअघि दुई बँदेल मृत फेला परेको र दोस्रोपटक ४ दिनअघि मात्रै थप २ बँदेलसमेत गरी हालसम्म ४ वटा बँदेल मृत फेला परेको जानकारी दिए ।
‘चार महिनाअघि पहिलो पटक निकुञ्ज बाहिरको बस्तीमा बंगुरमा यो रोग देखा परेको थियो,’ उनले भने, ‘ संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउनु पर्ने अवस्था देखियो ।’
उनका अनुसार जंगलमा रहेका बँदेललाई आइसोलेसनमा राख्न सकिने अवस्था नभएकोले नजिकको बस्तीमा पसेर घरपालुवा बंगुरमा पनि रोगको संक्रमण फैलिने अवस्था देखिएकोले सतर्कता अपनाउनुपर्ने भएको हो ।
पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा। जोशीका अनुसार नेपालमा अफ्रिकन स्वाइन फिभर पहिलो पटक २०७९ जेठ २ मा काठमाडौं उपत्यकामा देखिएको हो ।
‘कैलालीको भजनी क्षेत्रमा २०७९ कात्तिकमा यो रोगको संक्रमणबाट एउटै फर्मका ४ सय बढी बंगुर मरेका थिए । त्यसपछि कैलाली र कञ्चनपुरमा हालसम्म ४/५ हजारको संख्यामा बंगुर मरेका छन्,’ डा. जोशीले भने ।

