सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित

धनगढी- सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ । गए राति बसेको प्रदेश सभाको बैठकले बहुमतबाट बजेट पारित गरेको हो । सभामुख भीमबहादुर भण्डारीले आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक बहुमतले पारित भएको घोषणा गरे ।

यसै गरी, सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक र आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि बहुमतले पारित भएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने बैठकमा सहभागिता जनाएन । अर्को प्रतिपक्षी दलबाट राप्रपाका खेमादेवी विष्टको उपस्थिति रहेको थियो । उनले बजेटको विपक्षमा आफ्नो मत जाहेर गर्नु भएको थियो ।

यसै गरी, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रदेश सभा सदस्य धर्मराज पाठकले प्रदेश सभा सचिवालयमा दर्ता गर्नु भएको खर्च कटौतीको प्रस्ताव निष्क्रिय भएको छ । प्रदेश सभा बैठकमा उहाँ अनुपस्थित भएको र अन्य कसैमार्फत प्रस्ताव प्रदेश सभा बैठकमा पेस नगरेकाले सभामुख भण्डारीले सो प्रस्ताव निष्क्रिय भएको सदनलाई जानकारी दिए ।

प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख रुपियाँको अनुमानित बजेट ल्याएको छ । चालुतर्फ नौ अर्ब ५९ करोड ६० लाख (३२.७९ प्रतिशत), पुँजीगततर्फ १७ अर्ब दुई करोड २३ लाख (५८.१६ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।

यसै गरी, अन्तर सरकारी वित्त हस्तान्तरणतर्फ दुई अर्ब ३४ करोड ७५ लाख (८.०२ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ३० करोड (१.०३ प्रतिशत) बजेट विनियोजन भएको छ ।

 

Loading...