बैतडी- सहिद दशरथ चन्दको जन्मस्थान बस्कोट र बैतडी सदरमुकाममा १२१ औँ जन्मजयन्ती मनाइएको छ । सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानको आयोजनामा चन्दको जन्मघर बस्कोटस्थित सालिकमा माल्यार्पण गरी जन्मजयन्ती मनाइएको हो ।



सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बस्कोट र सदरमुकाम गढीस्थित सहिद चन्दको सालिकमा माल्यार्पण गरी जन्मजयन्ती मनाइएको बताए ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलगायत सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो । दशरथ चन्दको जन्म विसं १९६० असार १७ गते बस्कोटमा पिता शेरबहादुर चन्द र आमा पार्वती चन्दको कोखमा माइला छोराका रूपमा भएको थियो ।

तत्कालीन राणा सरकारले १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभाभगवतीमा गोली हानि मृत्युदण्ड दिएको थियो । राणा शासनका विरोधीमा सबैभन्दा सशक्त व्यक्तित्व सहिद चन्दले मानविकी तथा समाजशास्त्र विषयमा वनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए ।
दशरथ चन्दको जन्मघर अब पाहुनाघर
सहिद दशरथ चन्द जन्मेको घरलाई पाहुनाघर ९होमस्टे० बनाइएको छ । होमस्टेमा पाहुनाले रोजे अनुसार स्थानीय खानाका परिकारसमेत खान पाइने छ । दशरथ चन्द नगरपालिका–५, बस्कोटमा रहेको आठ वटा कोठाको दुईतले घर पुनर्निर्माणपछि रङरोगन गरेर चिटिक्क पारिएको छ ।
पाहुना घरको भुइँतलामा भान्छाकोठा, अतिथि कक्ष र माथिल्लो तलामा रहेका चार वटा कोठामा टेलिभिजन र इन्टरनेटको सुविधासहित बास बस्ने गरेर घर पुनर्निर्माण गरिएको सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए ।




