काठमाण्डौ- महाकाली करिडोरले बैतडीमा सिँचाइ कुलो भत्काएपछि खेत बाँझै रहेको छ । पञ्चेश्वर गाउँपालिका–२ को बज्वागडा स्कुल अगाडिबाट करिडोर खन्दा कुलो पुरिएका कारण खेत बाँझै रहेको हो । सिँचाइ कुलो पुरिएपछि वर्षको तीन बाली उत्पादन हुने पञ्चेश्वरका डिम्मर, मटयानीलगायत ठाउँका खेत बाँझै रहेको हो ।



यसअघि खेतमा गहुँ पाक्न लागेको बेला करिडोरको माटोले कुलो पुरेपछि गहुँको उत्पादनमा समेत कमी आएको स्थानीय पञ्चेश्वरका रामसिंह मङ्गोलाले बताए ।


नेपाल, भारत र चीनसित जोड्ने र त्रिदेशीय नाकाका रूपमा विकास गर्ने अवधारणाका साथ डेढ दशकअघिदेखि करिडोर निर्माण थालिएको हो । तर, बैतडीको पञ्चेश्वरमा करिडोरको कामले गति लिन सकेको छैन । महाकाली करिडोरले कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलालाई जोड्छ ।