काठमाडौँ- मधेसी आयोगले थारू र मुस्लिमलाई मधेसी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ। मंसिर २० गते बसेको आयोगको बैठकले सो निर्णय गरेको आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले जानकारी दिए। नेपालमा मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन– २०७८ बाट उपसमूह १ मा रहेको थारू र २ मा रहेको मुस्लिमलाई आयोगले हटाएको हो।






आयोगको निर्णय कार्यान्वयनका लागि आयोगकी उपसचिव सविता डंगोलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्रसमेत पठाएकी छिन्। थारू र मुस्लिम समुदायका विभिन्न संघ–संगठनले आफूहरूको छुट्टै पहिचान र सभ्यता रहेको भन्दै आफूहरूलाई मधेसी क्लस्टरमा नराख्न आयोगमा उजुरी दिएका थिए।





सो उजुरीमाथि निर्णय लिँदै थारू र मुस्लिमलाई मधेसी क्लस्टरबाट हटाउने निर्णय भएको अध्यक्ष डा. दत्तले जानकारी दिए। यसअघि आयोगले २०७८–७९ को वार्षिक प्रतिवेदनमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थारू र मुस्लिमसहित एक सय ४९ जातलाई मधेसीको रूपमा सिफारिस गरेको थियो।




