बाजुरा- बाजुराका स्थानीयवासीलाई दशैं मनाउन गाउँ फर्किन समस्या भएको छ । कामको शिलसिलामा प्रदेशीएका तथा पढाइको क्रममा जिल्ला बाहिर रहेका यती बेला दशैं मनाउन गाउँ फर्किन थालेका छन् । त्रिवेणी नगरपालिका स्थानीय रामबहादुर साउँदले दशैं मनाउन भारतबाट गाउँ आउन गाडी नपाएर निकै सास्ती खेप्नु परेको गुनासो गरे ।




उनले भने, ‘‘दशैंको बेला गाडी नपाउँदा चर्को भाडा तीर्नुपर्ने र भाडा तीरेपनि राम्रोसँग गाडीको सिटमा बसेर सवार गर्न नपाउँदा निकै समस्या भोग्नुपर्यो ।’ बिगतका केही वर्षमा कोरोनाको कहर तथा अन्य विभिन्न समस्याका कारण दशैंमा घर आउन पाएको थिएन । अहिले अवस्था सहज भएपछि दशैं मनाउन घर आउँदा बाटोमो गाडी नपाउँदा सास्ती खेप्नु परेको उनले बताए ।


बिगतका केही वर्षमा कोरोनाको कहरले दशैं मनाउन घर आउन नपाएका बाजुराका स्थानीयवासी यो पटकको भने दशैं अगावै धमाधम गाउँ फर्किन थालेका छन् ।बाजुराका अधिकाशं स्थानीयवासी चैत र असारको खेती सकेर रोजगारीका लागि छिमेकी मुलुक भारत जाने गर्छन् । बूढीगङगा नगरपालिका स्थानीय भरत सुनारले काठमाडौंदेखि बाजुरासम्म पुग्दा निकै कष्ठघर यात्रा भोग्नुु परेको बताए।
उनले भने, ‘‘काठमाडौंमै गाडी नपाएर दुई दिन बसपार्कमा बास बस्नु पर्यो । पछि गाडी पाए पनि २८ घण्टासम्म उठेर उत्तरीया पुगियो । त्यहाँ पनि गाडीमा राम्रो सिट नपाएपछि उभिएर नै बाजुरा पुग्दा निकै समस्या भोग्नुपर्यो ।’ चर्को भाडा तिरेर पनि सहजरुपमा यात्रा गर्न नपाउनु र उभिएर नै लामो यात्रा गर्दा निकै समस्या हुने उनको भनाइ छ ।

