अझै सञ्चालन भएन साँफे–मार्तडी राजमार्ग

बाजुरा- पहिरोका कारण दुई महिनादेखि अवरुद्ध बन्दै गएको बाजुराको साँफे–मार्तडी राजमार्ग अझै सञ्चालनमा आएको छैन ।असारको पहिलो साताबाट मनसुन सुरु भएसँगै अवरुद्ध भएको साँफे–मार्तडी राजमार्गअन्तर्गत पर्ने अम्कोट सडक दुई महिनासम्म सञ्चालन नभएपछि स्थानीयवासीले आवागमनमा निकै सास्ती खेप्नुपरेको छ ।

सदरमुकाम मार्तडी गैरी बजारका होटल व्यवसायी प्रेम बुढाले दुई महिनादेखि सो सडक सञ्चालनमा नआउँदा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै सास्ती खेप्दै आउनुपरेको बताए ।

Navadurga sun
Godawari sandesh

उनले भने, “गाडी मार्तडीमा सञ्चालन भएका बेला यहाँका व्यापारीले नुन, तेल, दाल, चामललगायतका दैनिक उपभोग्य सामग्री सस्तो मूल्यमा दिन्थे, अहिले गाडी बल्देमै रोकिन थालेपछि ती सामग्रीको निकै चर्को मूल्य पर्ने गरेको छ ।”

अवरुद्ध सडक खुलाउन जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन साँफेबगर अछामलाई पत्र पठाएसँगै काम सुरु भइरहेको भए पनि वर्षा नरोकिएकाले स्काभेटरलाई पनि सडकको पहिरो पन्छाउन निकै समस्या भएको छ ।

Dadeldhura hospital

जिल्ला प्रशासन कार्यालय बाजुराले सडक डिभिजन कार्यालय अछामलाई अवरुद्ध भएको साँफे–मार्तडी सडकअन्तर्गत पर्ने अम्कोट सडकमा रहेको पहिरो पन्छाएर सवारीसाधन सञ्चालन गर्न आग्रह गर्दै आएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले सडक सञ्चालन गर्न विगत लामो समयदेखि डोजरको प्रयोग गर्दै आए पनि अविरल वर्षाका कारण सडकको तल र माथि दुवैतिरबाट पहिरो झर्न नरोकिएपछि सडक अवरुद्ध हुँदै गएको बताए ।

उनले भने, “गत जेठमा डोजरको निरन्तरताले जिप र ट्याक्टरलगायतका सवारी केही दिन सदरमुकाम मार्तडीसम्म सञ्चालन भए पनि असार र साउन महिनामा फेरि ती साधन साँफे–मार्तडी सडकअन्तर्गत पर्ने बल्देमा रोकिँदै आएका छन् ।

हिउँदका केही महिना यातायातबाट सामान ढुवानी गर्दै आएका मार्तडीका व्यापारीले अहिले पहिलेझैँ खच्चरबाट सामान ओसारपसार गर्दै आएका छन् । मार्तडीसम्म सवारीसाधन सञ्चालन नहुँदा माथिल्लो क्षेत्रका स्थानीयलाई बर्खाको समय खाद्यान्न सङ्कट हुने सम्भावना छ ।

पहुँच र पैसावालाका लागि कोल्टी हवाईमार्गले केही सहज बनाएको भए पनि आर्थिक अवस्था कमजोर हुनेका लागि भने बर्खाको समय सधैँ यो पीडा भोग्दै आउनुपरेको छ ।

सडक डिभिजन कार्यालय अछामका सुपरभाइजर गोकुल गिरीले पहिरोले अवरुद्ध बनेको सडकलाई डोजरले गत असारदेखि नै हटाउन थालेको भए पनि लगातार पानी पर्दै गएका कारण फेरि सडक सञ्चालन गर्न अझै समय लाग्ने बताए ।

Loading...