अछाममा मतदाताको संख्या ७ हजार बढी थपियो




अछाम, ५ माघ– अछाममा ७ हजार ४०७ जना मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयको साउनदेखि पुस मसान्तसम्म गरिएको नामावली संकलन कार्यक्रम अनुसार उक्त मतदाता संख्या थपिएका हुन् ।


यो सँगै पुस मसान्तसम्म जिल्लामा नयाँ र पुराना गरी १ लाख ५७ हजार १७ पुगेको छ । जसमा महिला ८० हजार ६८५ र पुरुष ७६ हजार ३३० रहेका छन् । यसअघि अछाममा १ लाख ४९ हजार ६१० मतदाता रहेको थिए । साउनदेखि पुस मसान्त नियमिततर्फ ४ हजार ४६२ र विशेष कार्यक्रमतर्फ २ हजार ९४५ मतदाता थपिएका हुन् ।



जिल्ला निर्वाचन कार्यालमा ३६०, जिल्ला प्रशासन कार्यालयमा ३ हजार ६११ र ईलाका प्रशासन कार्यालय विनायकमा ४८२ जनाले नामावली दर्ता गराएका छन् । त्यस्तै जिल्ला निर्वाचन कार्यालय अछामले मंसिर दोस्रो साताबाट मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरेको थियो । निर्वाचन कार्यालय अछामले १७-२६ मंसिरसम्म पाँचवटा पालिका र २८ मंसिरदेखि ८ पुससम्म ४ पालिका गरी जम्मा ९ वटा पालिकाहरूमा २ चरणमा टोली मार्फत नामावली संकलन गरिएको थियो ।
मंगलसैन नगरपालिकामा भने जिल्ला निर्वाचन कार्यालयबाट नामावली संकलन गरिएको थियो । विशेष कार्यक्रमतर्फ पन्चदेवल विनायक नगरपालिकामा ९८७ र सबैभन्दा कम तुर्माखाँद गाउँपालिकामा ११६ मतदाता थपिएका हुन् ।
साँफेबगर नगरपालिकामा ४१२, रामारोशन गाउँपालिमा ३०४, चौरपाटी गाउँपालिकामा २४१, मेल्लेख गाउँपालिकामा २२८ र बान्नीगढी जयगढ गाउँपालिकमा २५३ मतदाता थपिएका हुन् । त्यस्तै कमलजबार नगरपालिकामा २४९ र ढकारी गाउँपालिकामा १५५ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय अछामले जानकारी दिएको छ ।



